काठमाडाैं । नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहसम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा कामपाका ५० माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं मधुमेह रोगको न्यूनीकरण, नियन्त्रण तथा यससम्बन्धी जनचेतना जगाउने कार्यमा लामो समयदेखि सेवा गर्दै आउनुभएका वरिष्ठ विशेषज्ञ, चिकित्सक तथा सम्बन्धित विज्ञका साथै समाजसेवीको सहभागिता रहने समाजका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए ।
उनले नेपालमा विभिन्न खानपानको ज्ञान नहुनाले दिनानुदिन शहरी क्षेत्रमा मधुमेहका रोगी बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न सबैको पहल हुनुपर्नेमा जोड दिए ।
समाजका वरिष्ठ सदस्य एवं आयोजनाका संयोजक डा चुन्दा बज्राचार्यले कामपाका प्रअहरुको सहभागितामा हुने बहस कार्यक्रमबाट रोग न्यूनीकरणमा सहयोग मिल्ने बताए । उनले मधुमेहको रोगको उपचारमा लाग्नुभन्दा रोग लाग्न नै नदिनुतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठले मधुमेह रोकथामका उपाय तथा खानपानमा सुधारका विषयमा विस्तृत जानकारी दिने समाजले जनाएको छ ।
कार्यक्रममा गोल्डेन गेट इन्टरनेसनल कलेजका कार्यक्रम संयोजक तथा खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठले खाद्य तथा पोषणसम्बन्धी, तिलगङ्गा अफ्थाल्मोलोजी इन्ष्टिच्यूटका नेत्ररोग विशेषज्ञ डा इली प्रधानले मधुमेहबाट आँखामा हुने प्रभाव विषय तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुरोग सम्बन्धमा मन्तव्य दिने संयोजक डा बज्राचार्यले जानकारी दिए । समाजका संस्थापक संरक्षक डा मृगेन्द्रराज पाण्डेले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६