काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गरेका छन् । यस अभियानले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको उनको भनाइ छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरत रुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिए । नेपाललाई अल्प विकसितबाट माथि उठाउने, गरिबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्नेजस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध कार्यक्रमका साथ अगाडि बढेको उनले जानकारी दिए ।
‘हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडि बढाउनुपर्छ’, उनले भने, ‘कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन । आफैं बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदन अगाडि बढेको छ । नयाँ नेपाल यसैगरी बन्ने हो ।’
उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालेको उल्लेख गरे । सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउन नयाँ उचाइमा पुगिएको उनले बताए । यस घोषणाबाट मानिस निरोगी हुने, स्वास्थ्य उपचारमा हुने खर्च घट्ने, संक्रामण रोग कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने उनको भनाइ थियो ।
‘हामी जनताप्रति उत्तरदायी हुन्छौँ । जनतालाई अमानवीय अवस्थामा हुने नदिने संकल्प छ । सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्र्छाै’, उनले भने, ‘अब समग्र सफाइ, स्वच्छ नेपाल बनाउनुपर्छ । प्राकृतिक हिषाबले नेपाल चिटिक्क छ । सिंगै नेपाललाई चिटिक्क बनाउने । बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँजस्तो बनाउने दिशामा अगाडि बढेका छौं ।’
उनले नेपालका ७५३ स्थानीय तह, ७७ जिल्लाहरुले खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपालललाई खुला दिसामुक्त घोषणा गरेका हुन् । उनले सन् २०३० सम्म दीगो विकासको लक्ष्य पूरा गर्ने संकल्पन पनि गरे । घोषणापछि कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झन्डा फहराउँदै तालीको घडगडाहटले स्वागत गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६