इटहरी । जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका ६ ठाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।
आज इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरसहितको शिविरमा १ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा ल्याब सेवा र औषधि पनि निःशुल्क गरिएको छ । विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा. रामकुमार मेहता, हाडजोर्नी रोग विशेषज्ञ डा. मिथिलेशकुमार गुप्ता, स्त्रीरोग विशेषज्ञ डा. सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा. अश्विनकुमार गुप्तालगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए ।
६० वर्षमाथिका जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शिविर उदघाटन गरेकी थिइन् । दिनभर पानी परे पनि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बरालले जानकारी दिए ।
यसअघि जेष्ठ नागरिक दिवसकै अवसर पारेर इटहरीका वडा नम्वर १, ३, १२, १६ र १७ मा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो । ५ ठाउँमा भएका शिविरमा २ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । आफ्नै गाउँठाउँमा उपमहानगरले निःशुल्क स्वास्थ्य जाँच गरिदिएपछि जेष्ठ नागरिक खुसी भएका छन् ।
जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले सय वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई घरमै गएर भेटेका छन् । असोज १३ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सञ्जीव शर्मासँग स्वास्थ्यसम्बन्धी सचेतना र अन्तत्र्रिmया कार्यक्रम राखिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६