गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगका लागि पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुआत गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूल, चामल, घिउजस्ता वस्तुको अन्त्य गरी वडा नं ७ को कार्यालयले भेटिपेटिकाको व्यवस्था शुरु गरेकोे हो ।
मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घिउकोे ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै भए पनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यस कार्यको शुरु गरिएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए। दिवङ्गत व्यक्तिको घरमा जाँदा फलफूलहरु बिग्रिएर खेर गएको देखिएकाले टोल विकास समितिमार्फत आएको सुझावको आधारमा कार्यक्रम ल्याएको उहाँले बताए ।
परम्पराको संरक्षणसँगै नयाँ युगको शुरुआतका लागि कार्यप्रारम्भ गरिएको छ । १४ टोल सुधार समिति रहेकामा वडाले अहिलेलाई छ भेटिपेटिका निर्माण गरेको छ । भेटिपेटिका वडा कार्यालयमा नै रहने र जुन घरमा दुःख पर्छ सोही स्थानमा टोल विकास संस्थामार्फत परिचालन गरिनेछ वडासचिव गीता पौडेल बताउछन् ।
यस कार्यको थालनी वडा र नगरमा मात्र सीमित नगरी देशव्यापी रुपमा भएको खण्डमा सामाजिक संस्कारमा गरिने फजुल खर्च सही ठाउँमा सदुपयोग हुने स्थानीय दोवराज तिवारी बताउछन् । आर्थिक अभावमा उपचार गर्न नसक्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ । यस कार्यले थोरै भए पनि उपचारमा केही सहयोग पुग्नेछ । पछिल्लो समय काजकिरिया खर्चवापतको रकम कटौती गरेर सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रम पनि विस्तारै बढ्न थालेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६