काठमाडाैं । धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन् । कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन् । सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले भने एक विपन्न बालिकाको उपचारका लागि सहयोग जुटाएकमी छिन् ।
तनहुँको ब्यास नगरपालिका–११ का चार वर्षीया निर्मला चेपाङ गत भदौ २६ गते घरमै खेलिरहेको अवस्थामा तातो पानीले जलेर घाइते भएकी थिइन् । कम्मरमुनिको भाग जलेर घाइते भएकी चेपाङलाई उपचारका लागि परिवारले सोही दिन दमौली अस्पताल ल्याएको थियो । दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा लैजान चिकित्सकले सुझाव दिए पनि चेपाङ परिवारले आर्थिक अभावमा उनलाई पोखरा लैजान सकेन र दमौली अस्पतालमै केही दिन बालिकाको उपचार गरियो ।
चेपाङ परिवारको अवस्था थाहा पाएपछि अस्पतालमै कार्यरत अहेब मगरले बालिकाको तस्बिरसहित फेसबुकमा पोस्ट गर्दै सहयोगका लागि आह्वान गरेकी थिइन् । फेसबुककै माध्यमबाट पीडित बालिकाको उपचारका लागि तत्कालै ५० हजार रुपैयाँ संकलन गर्न सफल भएको मगरले जानकारी दिइन् ।
फेसबुकमा हालेपछि विभिन्न व्यक्ति र संघ संस्थामार्फत् सहयोग जुट्यो, उनले भनिन्, उक्त रकमबाट थप उपचारका लागि पीडित बालिकालाई पोखरा पठाइयो ।
पीडित बालिकाको पोखरामा उपचार भइरहँदा पनि जिल्लामा उनको उपचारका लागि अन्य व्यक्तिले पनि सहयोग प्रदान गरिरहेका थिए । मगरका अनुसार पीडित बालिकाको उपचारका लागि एक लाख ३३ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।
उनको उपचारका लागि ५८ हजार ५ सय रुपैयाँ खर्च भएको र बाँकी ७५ हजार दमौलीस्थित सनराइज बैंकमा खाता खोलेर जम्मा गरिएको छ । बालिकाको उपचारपश्चात् स्वास्थ्यमा सुधार आएको र घाउ निको हुने क्रममा छ, उनले भनिन्, ड्रेसिङको काम दमौली अस्पतालमै भइरहेको छ । निर्मला चेपाङ सहयोग अभियानमार्फत् संकलन भएको रकम बैंकमा जम्मा गरेर उक्त बैंकको चेक आज पीडित बालिकालाई हस्तान्तरण गरिएको छ ।
पीडित बालिकाकी आमा धनमाया चेपाङले आर्थिक अभावमा छोरीको उपचारमा समस्या भएको अवस्थामा रकम जुटाएर सहयोग गरेकोमा सबैलाई धन्यवाद दिइन् । पीडितबालिकाका बुबा गणेशमान चेपाङ व्यास नगरपालिका–११ स्थित एक इँट्टामा दैनिक मजदुरी गर्छन् । दैनिक मजदुरी गरेर कमाएको रकमले ६ जनाको परिवार पाल्नुपर्ने अवस्था छ ।
दैनिक गुजारा गर्न नै गाह्रो भएको अवस्थामा छोरीको उपचार गर्नै समस्या भएको थियो, उनले भने, रकम संकलन भएपछि छोरीको स्वास्थ्य सुधार हुँदै गएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६