काठमाडौं । डेंगुका कारण मुलुकमका आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको सरकारले जनाएकाे छ । बुधबार संसदमा विशेष समय लिएर बोल्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
अन्य मुलुकमा जस्तो जटिलनभई नेपालमा अत्यन्त न्यून रुपमा डेंगु देखिएको भन्दै उनले मृत्युदर अत्यन्त न्यून भएकाले नै आपतकालीन अवस्थाको घोषणा गर्नुनपर्ने बताएका हुन् । यो रोग नेपालको मात्र समस्या होइन । साधन स्रोतले सम्पन्न विकसित मुलुकका लागि पनि यो रोग नियन्त्रणकाे ठूलो चुनौतीको रुपमा छ , उनले भने, ‘हाम्रो स्वास्थ्य प्रणाली यस्ता रोगको कुशल नियन्त्रण गर्न सक्षम छ ।’
नेपालमा पहिलो पटक ०६१ सालमा चितवनमा देखिएको डेंगु अहिले ५६ जिल्लामा देखिइसकेको उनले बताए । साउन १ देखि भदौ २३ सम्ममा ५ हजार ९५ जनामा डेंगु संक्रमण देखिएको र हालसम्म ६ जनाको निधन भएको मन्त्री यादवले जानकारी गराए ।
डेंगु रोग नेपालका लागि मात्र नभएर सम्पूर्ण विश्वका लागि चुनौती बनेको भन्दै उनले भने–‘विश्वव्यापी डेंगु संक्रमण तिब्र बनेको छ । विगत ५० वर्षमा डेंगु संक्रमण ३० गुणा बढेको छ । विश्वको आधाभन्दा धेरै जनसंख्या यो रोगको जोखिममा छ ।’
एक सय २८ भन्दा धेरै देशका तीन दशमलव ९ अर्ब मानिस यो रोगको जोखिममा रहेको उनले बताए । ‘एक अध्ययन अनुसार हरेक वर्ष ३९ करोड मानिसमा डेंगु संक्रमण हुन्छ, २० हजारभन्दा धेरैको निधन हुन्छ’, उनले भने ।
डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधि र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको उनले बताए । लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको उनको भनाइ थियो ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६