झापा । झापाको धानखेतीमा देखा परेको अमेरिकी फौजी कीराको प्रकोप नियन्त्रणमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गौरादह नगरपालिकाका वडा नम्बर २ र ५ मा दुई साताअघि पहिलोपटक देखा परेको फौजी कीराको प्रकोप कनकाई नगरपालिकाको वडा नम्बर ५, झापा गाउँपालिकाको वडा नम्बर ३ र कचनकबल गाउँपालिकास्थित धान सुपरजोन क्षेत्रमा समेत फैलिएको थियो ।
कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले ती सबै क्षेत्रमा देखा परेको फौजी कीराको प्रकोप पूरै नियन्त्रणमा आइसकेको बताए । नियन्त्रणमा आउनुअघि फौजी कीराले ती क्षेत्रको २५ बिघामा लगाइएको धानखेती सखाप पारेको थियो । उनका अनुसार नेपालमै पहिलोपल्ट झापामा अमेरिकन जातको फौजी कीरा देखा परेको र यस अघि भारतीय जातको फौजी कीराको मात्र प्रकोप देखा पर्ने गरेको थियो ।
राति मात्र सक्रिय हुने अमेरिकन फौजी कीराले लार्भा अवस्थामा बढी क्षति पुर्याउने गरेको छ भने सुरुमा धानको पात खाएर झिल्लीजस्तो बनाउने र पछि गुभोको रस चुसेर बोट सुकाएर मार्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख रवीन्द्र सुवेदी बताउँछन् ।
उनका अनुसार फौजी कीरा नियन्त्रणका लागि धानखेतीमा एममिक्टिन बेन्जोस्ट, क्लोरोपाइरिफस र साइपर मेप्रिन मिश्रण गरेर स्प्रे गरिएको थियो । अमेरिकन जातको फौजी कीरा देखा परेपछि कृषि ज्ञान केन्द्र, स्थानीय तहका प्राविधिक, कृषि निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरका विज्ञले किसानको खेतमै पुगेर कीराको पहिचान गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६