विराटनगर । विराटनगरस्थित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको छ । यहाँ दैनिक ६० जनाभन्दा बढी रगत लिन आउने गरेका छन् ।
यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आउने बिरामी रगतका लागि रक्त सञ्चार केन्द्र धाउने गरेका छन् । ‘रगत लिन आउनेको सङ्ख्या बढ्दै गएको छ’, केन्द्रका प्राविधिक इन्चार्ज शिवनन्द यादवले भने । रगतको माग पूरा गर्न निकै समस्या भएको उनले बताए । ‘रगतको माग बढी छ, संकलन न्यून छ’, उनले भने ।
विराटनगर पछिल्लो समयमा उपचारको केन्द्र बन्दै गएको छ । यहाँका अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ । रक्त सञ्चार सेवा केन्द्रका लागि झण्डै २ सय संघसंस्थाले रक्तदान गरी रगत संकलन गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६