सिन्धुपाल्चोक । डेंगु संक्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका-१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेंगु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिइएको थियो ।
परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पुर्याएको हो । अस्पतालले डेंगु संक्रमणबाट मृत्यु भएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका-१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए ।
अस्पतालले दनुवारको मृत्यु डेंगुकै कारणले भएको प्रमाणित गरेपछि भिमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँवासीमा डेंगुको थप संक्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए । - रासस
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६