चितवन । जिल्लामा डेंगुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो । वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको नाम गोप्य राखिएको छ ।
जिल्लामा केही दिनयता डेंगुको सङ्क्रमण बढ्दो छ । उनका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा पाँच सय ६७ जनाको परीक्षण गरिएकामा दुई सय २५ मा डेंगुको सङ्क्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेको उनले जानकारी दिए । डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरी जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उनको भनाइ छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६