धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएको छ ।
प्रतिष्ठानको एक हजार छ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट बिग्रिएर काम नगरेपछि अक्सिजन अभाव भएको हो । बाहिरबाट सिलिन्डर किनेर ल्याइँदै आए पनि पर्याप्त नआएपछि अभाव भएको चिकित्सकले बताएका छन् ।
अक्सिजन निर्यात गर्दै आएको कम्पनीले पर्याप्त निर्यात गर्न छाडेपछि आकस्मिककक्ष र बिरामी उपचार गर्न राख्ने वाडमा अक्सिन अभाव भएको चिकित्सकले जानकारी दिनुभयो । प्रतिष्ठानको प्लान्ट बिग्रिएपछि दुर्गा प्लान्ट दुहवीबाट निर्यात गरिँदै आएको थियो । उसले पनि पर्याप्त सिलिण्डर उपलब्ध गराउन नसकेपछि अभाव भएको बताइएको छ ।
प्रतिष्ठानले दैनिक ६० हजारदेखि ८० हजार रुपैयाँ व्ययभार हुने गरी सिलिन्डर खरिद गर्दै आए पनि पछिल्लो समय सिलिण्डर पर्याप्त नआएको एक चिकित्सकले बताए ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा गुरुप्रसाद खनालले प्रतिष्ठानको अक्सिजन प्लान्टले लामो समयदेखि काम नगरेका कारण सिलिन्डर किन्दै आएको बताए । उनले दुई साताभित्र मर्मत गरी उत्पादन सुरु गरिने जानकारी दिए । प्रतिष्ठानलाई प्रतिमिनेट ८ सय लिटर अक्सिजन आवश्यक पर्छ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६