विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गएको वैशाखदेखि सुनसरीको धरानमा देखिएको डेंगुले प्रदेशभरमा तीन हजार एक सय ५२ जना प्रभावित भएको बताएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा विभिन्न सदस्यले उठाएको प्रश्नको जवाफको क्रममा उनले सो जानकारी दिएका हुन् । उनले डेंगु सुनसरीको धरानबाट फैलिँदै अन्य जिल्लामा विस्तार भएको र सुनसरीमा सबैभन्दा बढी तीन हजार २५ जना बिरामी रहेको बताए ।
मन्त्री घिमिरेले डेंगुको नियन्त्रण सरकारले मात्र नभई आमनागरिक नै लाग्नुपर्ने भन्दै नियन्त्रणका लागि विद्यालयका किशोरकिशोरीलाई अभियन्ताको रुपमा प्रयोग गरी सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको बताए ।
उनले मोरङको बैजनाथपुर रंगशाला निर्माणमा भएको भनिएको भ्रष्टाचारको सम्बन्धमा प्रदेश सरकारले ४३ लाख मात्र विनियोजन गरेको भन्दै विनियोजित रकममा २६ लाखको मात्र काम भएकाले भ्रष्टाचार नभएको प्रतिक्रिया दिए ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ ।
छलफलमा प्रदेशसभासदस्य इन्दिरा राई, उमिता विश्वकर्मा, केदार कार्की, झलकबहादुर मगर, तुलसीप्रसाद न्यौपाने, राजेन्द्रकुमार राई, राधा थापा, विजयकुमार विश्वास, विमल कार्की र शान्ता पौडेलले आदर्श पुरुष स्वर्गीय मनमोहन अधिकारीको नाममा स्थापना हुने विश्व विद्यालयको विधेयकलाई समृद्ध र विवादरहित बनाउनुपर्न बताए ।
उनीहरुले विश्वविद्यालय स्थापना गर्दा भोलि आउने कानुनी, नीतिगत र प्राविधिक समस्यालाई समाधान गर्न अहिले नै विधेयकमा गहन छलफल हुनुपर्ने भन्दै यसमा परिमार्जन हुनु आवश्यक रहेको धारणा राखे ।
शून्य समयमा सदस्य राजन राईले खोटाङ टिक्तेल नगरपालिका १ निवासी टंकप्रसाद आचार्यले सहभोज खाएकै बहानामा उनलाई अघोषित सामाजिक बहिष्कार गरेकामा प्रदेश सरकारको ध्यानाकर्षण गराए । सदस्य सूयर्माराज राईले सवारी चालक अनुमतिपत्रमा देखिएको अनियमिततालाई रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
प्रदेशसभाको अर्को बैठक भदौ १ गते दिउँसो १ बजे बस्ने छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६