भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने तरकारीको विषादी परीक्षण एकाइले कडाइ गर्न थालेपछि यस क्षेत्रका उपभोक्ता खुशी भएका छन् ।
विषादी परीक्षण नगरेको तरकारी र फलफूल नेपालका बजारमा भित्रिनमा भन्सार कार्यालयले रोक लगाएको जनाएको छन् । कैलालीे धनगढीको अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण एकाइले तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाइ गरेको जनाएको छ ।
पहिलेदेखि छड्के रुपमा विषादी परीक्षण गर्ने गरेको एकाइले सर्वोच्च अदालतको आदेश पश्चात भारतबाट आयात हुने फलफूल र तरकारीको विषादी परीक्षणमा कडाइ गरेको हो । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भन्सारबाट नेपाल भित्रिने भारतीय तरकारी र फलफूलको नियमित रुपमा परीक्षण गरिरहेको फलफुल तथा तरकारी बिक्रेता बताउँछन् । भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा उत्पादन भई कृषि उपज थोक बजार अत्तरीयामा ल्याइने तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण भइरहेको र परीक्षण पश्चात मात्रै ती वस्तुलाई उपभोक्तासम्म ल्याइने गरिएको व्यवसायी हेमराज पनेरुले बताए ।
पहिले पनि विषादी परीक्षण हुने गरे पनि पछिल्लो समयमा नेपाल सरकारको निर्देशन अनुरुप नै विषादी परीक्षणमा थप कडाइ गरिएको विषादी अवशेष दु्रत विश्लेषण एकाइका प्रमुख जीतबहादुर थापाले बताए । भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेपछि मात्रै भन्सारले बजारमा आउन दिने गरेको छ । तरकारी तथा फलफूलमा पाँच प्रकारको विषादी परीक्षण गर्नुपर्ने भए पनि स्रोत साधनको अभावमा हाल विषादी अवशेष दु्रत विश्लेषण एकाईले दुई किसिमको विषादी परीक्षण गर्ने गरेको प्रमुख थापाको भनाइ छ ।
उक्त एकाइमा कर्मचारी अभावमा विषादी परीक्षण गर्ने कार्य प्रभावित हुने गरेको छ । चारजना कर्मचारीको दरबन्दी रहेको सो एकाइमा हाल एकजना कार्यालय प्रमुख मात्रै हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६