काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न महानगरपालिकाले अनुगमनलाई तीब्रता दिएको छ । महानगरपालिकाले आज एकैदिन तीन वटा वडामा रहेको अव्यवस्थित बस्तीको अनुगमन गरेकाे जनाए ।
काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेल, इन्जिनियर कुलप्रसाद शर्मा, गुठी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्य सहितको टोली काठमाडौ महानगरपालिकाको वडा नं. ११ मा रहेको थापाथली, १० नंं वडामा रहेको गैरीगाउँ तथा वडा नं. १४ को बल्खुको अनुगमन गरे ।
अनुगमनका क्रममा खुला दिसा नदेखिएको र हरेक घरमा शौचालय नभएपनि शौचालय नभएको घरले संयुक्त शौचालय प्रयोग गर्दै आएको भेटिएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । आफूले सुकुम्बासी बस्तीमा यत्ति व्यवस्थित सरसफाइ होला भन्ने कल्पना पनि नगरेको र अनुगमनका क्रममा सरसफाइका हिसाबले निक्कै सचेत रहेको पाइएको उनले बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेलले भने अनुगमनका क्रममा सुकुम्बासी बस्तीमा सरसफाइको न्यूनतम पूर्वाधार भेटिएको बताए ।
अनुगमन कार्यलाई निरन्तर दिनुका साथै प्रभावकारी बनाउने अनुगमन समितिले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६