हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा डेंगुले महामारीको रुप लिन थालेपछि नियन्त्रणका लागि पहल थालिएको छ ।
महानगरपालिकाले आज कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेंगु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको जनाइएको छ ।
बुधबार डेंगु नियन्त्रणका लागि टोल विकास संस्था नगर समन्वय समितिसँग अन्तरक्रियासमेत सम्पन्न भएको र टोल विकास संस्थामार्फत पनि डेंगुको नियन्त्रणका लागि काम गर्ने निर्णय भएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । विगतका वर्षहरूमा मकवानपुरमा कमै मात्र देखा पर्ने गरेको डेंगु रोगले यस वर्ष भने माहामारीको रुप लिँदै गएको देखिएको हो ।
विशेष प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका कारण हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र मात्र ६२ जना बिरामी परेको जनाइएको छ । यो सङ्ख्या साउन १ गतेदेखि २२ गतेसम्मको हो । हेटौँडाका विभिन्न अस्पतालमा बिरामीको उपचार भइरहेको छ । दिनहुँजसो बिरामी आउने क्रम जारी रहेको जनाइएको छ ।
हेटौँडामा डेंगुका बिरामीको सङ्ख्या बढ्न थालेपछि यसबाट बच्न जनचेतना जगाउँदै लामखुट्टे बस्ने र प्रजनन गर्न सक्ने सम्भावित स्थान नष्ट गर्ने काम सुरु गरिएको प्रमुख महतको भनाइ छ ।
उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको वासस्थान नष्ट गर्ने, टोलटोलमा यसका बारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्नेलगायतका काम गरिएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । विशेष गरी हेटौँडाको वडा नम्बर ४ क्षेत्रमा यसको सङ्क्रमण बढी भएकाले यस क्षेत्रमा चेतना जगाउँदै टोलटोलमा जमेका पानी हटाउने काम भइरहेको उनको भनाइ छ ।
यसैगरी हेटौँडामा देखापरेको डेंगुको नियन्त्रणका लागि प्रदेश सरकारसँगको सहकार्यमा पनि काम भइरहेको कार्कीले बताए ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६