गाईघाट । उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार सुरु गरिएको छ ।
सुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए पनि विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित हुन पुगेपछि सोमबारदेखि उनीहरूको नियमित उपचार सुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार जिल्ला अस्पताल उदयपरबाटै चिकित्सकसहित औषधि झिकाइ कारागारमै उपचारको व्यवस्था गरिएको छ ।
एक सय ७३ कैदीबन्दीसहित तीन बालबालिका रहेको जिल्ला कारागार उदयपुरका सबै कैदीबन्दी भाइरलको ज्वरोबाट प्रभावित भएपछि अहिले नियमित उपचारको व्यवस्था गरिएपछि उनीहरूको स्वास्थ्य सुधार हुँदै गएको प्रजिअ खड्काले जानकारी दिए ।
कैदीबन्दीको उपचारमा निःशुल्क औषधि र केही औषधि खरिद गरी ल्याएर प्रयोग गरिएको र अहिले उनीहरूको अवस्था सामान्य बन्दै गएको छ ।
सुरुमा सामान्य अनियमित ज्वरो आउने र रुघाखोकीबाट सुरु भएको भाइरलका बिरामीका कारण कैदीबन्दी ओछ्यानमै थला पर्न थालेका थिए ।
५० कैदीबन्दी अटाउने क्षमता रहेको जिल्ला कारागार उदयपुरमा हाल एक सय ७३ कैदीबन्दी राख्न बाध्य हुनुपरेको र उनीहरूले पिउने पानी प्रदूषित रहेका कारण कैदीबन्दी भाइरलबाट प्रभावित हुन पुगेको कारागार प्रशासनले बताएको छ । -रासस
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६