काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तह तथा स्नातकोत्तरतहको भर्नामा नेपाली विद्यार्थीभन्दा विदेशी विद्यार्थीलाई धेरै छुट छुट्याएको भन्दै प्राडा. गोविन्द केसीले विरोध जनाएका छन्।
चिकित्सा शिक्षाको सुधारको लागि पटकपटक अनशन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका प्राडा. गोविन्द केसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली जनताका छोराछोरीलाई भन्दा विदेशीलाई प्राथामिकता दिनु मुर्खतापूर्ण निर्णय भएको भन्दै विरोध गरेका हुन्। ‘प्रतिष्ठानमा स्नातकोत्तर तहका कार्यक्रममा विद्यार्थी भर्ना गर्दा विदेशी विद्यार्थीलाई नाजायज रुपमा धेरै सिट खुलाएर स्वदेशी विद्यार्थीलाई स्नातकोत्तर गर्ने अवसरबाट वञ्चित गरिएको छ ।
यस्तो कुनै पनि अनुचित र नाजायज कदम हाम्रा लागि स्वीकार्य हुन सक्दैन‘ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस्तै, केसीले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार लगायतका संविधान प्रदत्त अधिकार कुण्ठित हुने गरी ल्याउन लागिएका सबै विधेयक फिर्ता गर्नसमेत माग गरेका छन्। उनले यस्ता सबै खाले गलत र अनियमित गतिविधि तत्काल रोकेर चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सम्झौताअनुसार सुधार नगरिएमा हामी कडा संघर्षका कार्यक्रम ल्याउनेसमेत बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६