काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन् ।
बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा छलफल हुन लागेको हो । अर्थ मन्त्रालयको सभाहलमा केहीबेरपछि छलफल सुरु हुने जनाइएको छ ।
छलफलमा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत अघि सारेका नीति, त्यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीका प्रयास तथा सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा छलफल हुनेछ ।
अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित बजेटका नीति तथा कार्यक्रमको कार्यान्वयनबारे सरकारको धारणा स्पष्ट पार्नेछन् । साथै, युवा उद्यमीहरूले भोगिरहेका समस्या, उनीहरूका आवश्यकता तथा सरकारले गर्नुपर्ने व्यावहारिक र नीतिगत सहजीकरणका विषयमा उनीहरूको धारणा समेत बुझ्ने कार्यक्रम रहेको छ ।
सरकारले सूचना प्रविधि क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार तथा सहजीकरणका विषयमा स्टार्टअप सञ्चालकहरूसँग प्रत्यक्ष छलफल गर्न लागेको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३