यदि मुखमा पटकपटक घाउ आउने तर एकदुई हप्तामा आफैं निको भएर जाने गरेको छ भने एप्थस अल्सर हुनसक्छ ।
मुखमा आउने घाउ एकदमै दुख्ने खालको हुन्छ । खानेकुरा खादा, पिउदा वा मुख चलाउदा पनि दुख्ने हुन्छ । यो एकपटक आएपछि फेरि फेरि पनि आइरहन्छ तर एक ब्यक्तिबाट अर्को ब्यक्तिमा भने सर्दैन । यो घाउ (अल्सर) मुखको भित्री भाग र जिब्रोमा जहाँ पनि आउन सक्छ तर गिजामा भने एप्थस अल्सर हुदैन । करिब ७० प्रतिशत मानिसहरुलाई जिवनकालमा यसले एक न एकपटक सताएको हुन्छ ।
मुखमा दोहोरिएर आउने यस्ता घाउहरु किटाणुको संक्रमणले , भिटामिन, फोलिक एसिड र आइरनको कमीले, खानाको एलर्जीले, शरीरमा हर्मोनको बदलावले, कामको धपेडी, पानीको कमिले र परीक्षाको समयमा अथवा अरु समयमा हुने तनाबको कारणले हुने गर्दछन । कतिपय अवस्थामा कुनै पनि कारण नभेट्टिन र यसको वंशाणुगत कारण पनि हुन सक्छ ।
एप्थस अल्सर १ देखि २ हप्तामा आफै हराएर जान्छ तर एकपटक आएर लामो समय रहने गरेको छ र उपचार गर्दागर्दै पनि रहिरहेको छ भने मुखको क्यान्सर हो कि भनेर विशेषज्ञसँग सरसल्लाह लिन जरुरी हुन्छ।
खतराका चिह्नहरु:
– घाउ वरपर रंङ परिवर्तन भइ दाग, धब्बाहरु देखिनु
– २ हप्ता भन्दा बढी समयसम्म घाउ निको नहुनु
– घाउमा रेशादार रौंहरु देखिनु
– सुपारिको सेवन गर्ने मानिसमा मुखको भित्री छाला सेतो हुनु
– घाउमा मासु पलाउनु
– लगातार रगत बगिरहनु
– बिना कारण स्वाद र स्पर्शमा परिवर्तन हुनु
घाउ (अल्सर) को व्यवस्थापन
- पानी तथा झोलीलो पदार्थ जतिसक्दो धेरै पिउनुपर्छ ।
- मनतातो नुनपानीले पटकपटक मुख कुल्ला गर्ने ।
- घाउ भएका बेला मसालेदार, तातो, चिसो र पिरो खाना खानुहुँदैन।
- मुख सफा राख्ने , नरम ब्रसले दात माझ्ने
केही समय पछि यो घाउ आफै निको भएर जान्छ तर डाक्टरको सल्लाह अनुसार दुखाइ कम गर्ने र घाउ छिटो निको हुने औषधि लागाउन सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६