धरान : सुनसरीको धरानमा फैलिएको डेंगुका बिरामी अझै बढ्दै गएका छन ।
मंगलबारसम्ममा एक हजार चार सय व्यक्तिको रगत परीक्षण गर्दा चार सय ५७ डेंगु संक्रमित देखिएका छन् । सोमबार तीन सय ६८ जना बिरामी रहेकामा एक दिनमा ८९ बिमारी थपिएका हुन् ।
सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर अस्पताल प्रशासन र चिकित्सकहरूसँग छलफल गरेका छन् ।
छलफलमा प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियार, अस्पताल निर्देशक डा गौरीशंकर साह, अस्पतालका सहायक निर्देशक डा विकास साह, र्यापिड रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनाल, डा नारायण भट्टराई, सांसद राई, नेकपाका सुनसरी सचिव रमेश बस्नेतलगायत सहभागी थिए ।
प्रतिष्ठानमा डेंगुसम्बन्धीका विज्ञ चिकित्सक भएकाले उपचारमा कुनै समस्या नभएको उपकुलपति प्रा डा रौनियारले जानकारी दिए । डेंगुको प्रकार छुट्याउने मेसिन सहयोगका लागि अस्पतालको पहलमा अमेरिकाको एक युनिभर्सिटीलाई पत्राचार गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६