काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १९.१३ अंकले घट्दै २५९९ अंकमा झरेको हो।
अघिल्लो दिन पनि नेप्से १०.६७ अंकले घटेको थियो। सोमबार कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ अर्ब २३ करोड रुपैयाँको कारोबार भयो।
आज ४७ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको मूल्य घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो।
सबै समूहगत सूचक घटेका छन्। जलविद्युत् समूह सबैभन्दा धेरै १.१९ प्रतिशतले घट्यो भने निर्जीवन बीमा १.१२ प्रतिशतले ओरालो लाग्यो। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र व्यापार समूह पनि घटेका छन्।
समूहगत कारोबारमा हाइड्रोपावरकै दबदबा कायम रह्यो। जलविद्युत् समूहमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भयो। वाणिज्य बैंकमा ३० करोड र उत्पादन तथा प्रशोधन समूहमा ३२ करोड रुपैयाँको कारोबार भएको छ।
मूल्य बढ्ने कम्पनीतर्फ हालै सूचीकृत सर्वोत्तम पेन्ट्स १५ प्रतिशतले बढ्यो। धौलागिरि लघुवित्त ११.९८ प्रतिशत, सीवाईसी लघुवित्त ९.१४ प्रतिशत, सयपत्री हाइड्रोपावर ६.२७ प्रतिशत तथा हाथवे इन्भेस्टमेन्ट र खानीखोला हाइड्रोपावर ३.३३ प्रतिशतले बढेका छन्।
यता पञ्चकन्या माइ हाइड्रोपावर ९.८३ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। विन नेपाल लघुवित्त ८.६७ प्रतिशत र माउन्ट एभरेस्ट पावर ७.७६ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सल डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा परेका छन्।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३