बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले अर्का एक बालकलाई पक्राउ गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।
पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पक्राउ परेका सुमन थापाले बयानका क्रममा खड्काको समेत संलग्नता रहेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
खड्काको पक्राउसँगै गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ। गरिमाको परिवारले दिएको पूरक जाहेरीपछि प्रहरीले शनिबार थप पाँच जनालाई पक्राउ गरेको थियो।
यसअघि गरिमाको शव भेटिएपछि प्रहरीले सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा थप व्यक्तिहरू पक्राउ परेका हुन्। प्रहरीले पक्राउ परेका अन्य व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३