काठमाडौं । चोरीको स्कुटर प्रयोग गरी राइड सेयरिङ सेवा दिँदै आएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका ३९ वर्षीय सरोज खनाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
नक्सालबाट भक्तपुर दरबार स्क्वायर जाने क्रममा एक यात्रुले आफ्नो ल्यापटपसहितको झोला स्कुटरमै बिर्सिएपछि चालक खनाल सम्पर्कविहीन भएका थिए । यात्रुले खोजतलासका लागि ट्राफिक प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनको खोजी थालेको थियो ।
खोजीका क्रममा खनाल नयाँ बसपार्कस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सोधपुछका क्रममा खनालले तेस्रो व्यक्तिको राइड सेयरिङ आईडी प्रयोग गरेर राइड सेयरिङको काम गर्दै आएको खुलेको छ ।
अनुसन्धानका क्रममा उनले केही समयअघि बा प्र ००–०० प ०० नम्बरको स्कुटरसमेत गोंगबुबाट चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले खोजतलास गरी हराएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा एउटा मोटरसाइकलको डिकीभित्र खनालको नागरिकता फेला परेको थियो ।
यसबाट खनाल लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको हुन सक्ने र उनले अन्य मोटरसाइकलसमेत चोरी गरेको हुन सक्ने आशंका गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खनालबाट फेला परेको ल्यापटप भने ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३