जाजरकोट : डोल्पा जिल्लाका विभिन्न पाटनमा यार्सागुम्बा संकलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
जिल्लाका विभिन्न नौ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी संकलनकर्ता बिरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निमित्त प्रमुख रनलाल कुलालले जानकारी दिए ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालय डोल्पाले यो अभियान सञ्चालन गरेको कुलालले जानकारी दिए । अहिले जिल्लाका सबै ठाउँमा हिउँ पग्लिसकेकाले यार्सा संकलनको सुरु भएको छ । जेठ १७ गतेदेखि चार ठाउँमा एचएसहितको टिम र पाँच ठाउँमा अहेवसहितको टिम परिचालन गरिएको हो ।
जिल्लाका सबैभन्दा बढी यार्सा पाइने र संकलनकर्ताको अत्यधिक भीड हुने ठाउँमा प्राथमिकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिइएको प्रतिनिधिसभा सदस्य सत्या पहाडीले जानकारी दिइन् ।
फूलबारी, जगदुल्ला, ग्यालबारा, बागडाँडा र क्याङजूरुलगायतका पाटनलाई लक्षित गरी नौ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पहाडीले जानकारी दिइन् । पहिलो चरणमा जेठ १७ गतेदेखि ३० गतेसम्म स्वास्थ्य शिविर रहने छ । यार्सापाटनमा संकलनकत्र्ताको भीडको आधारमा शिविर थप समय निरन्तरता दिने वा बन्द गर्ने तय हुने प्रमुख कुलालले जानकारी दिए ।
शिविर सञ्चालन भएको ठाउँमा आवश्यकताका आधारमा औषधि ढुवानी भइसकेको उनले बताए । सुरुका दिनमा नै यार्सा संकलक बिरामी हुने संख्या बढ्ने भएकाले सोहीअनुसारको व्यवस्था गरेर काम गरिएको कुलालको भनाइ छ ।
त्यस्तै अन्य सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए । स्वास्थ्य शिविर सञ्चालन गर्नुपूर्व नै पाँच जनाको मृत्यु भइसकेको छ ।
हिमाली पाटनमा खानेकुरा व्यवस्थित नहुनु, जथाभावी फोहर र अक्सिजनको अभावका कारण अत्यधिक मात्रामा बिरामी हुने गरेका छन् । सञ्चार सुविधा नहुँदा पाटनमा भएको समस्या समयमै खबर, आदान–प्रदान हुन समस्या भएको छ । जाजरकोट र रुकुमका यार्सागुम्बा संकलनकर्ताहरु बढी बिरामी हुने गरेका छन् ।
पाटनमा हुने हावापानी र मौसमसँग समायोजन हुन नसक्दा बिरामी हुनेको संख्या बढेको हो । अहिले शिविर भएका ठाउँमा प्राथमिक उपचार गरेर बाँकी उपचार गर्नका लागि जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सांसद पहाडीले बताए ।
औषधि नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्नका लागि यो पहलकदमी लिएको उनले बताए । अहिले १० हजारभन्दा बढी सर्वसाधारण डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्बा संकलन गरिरहेका छन् । वृद्ध, बालबालिका र विभिन्न रोगबाट संक्रमित भएका संकलनकर्तालाई स्वास्थ्य समस्या आउने गरेको छ । -रासस
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६