काठमाडौं : आज विश्व धूमपान तथा सुर्तीरहित दिवस । सुर्तीजन्य पदार्थले मानव स्वास्थयमा पार्ने नकारात्मक असरबारे सन्देश दिँदै विश्वभर मनाइँदै छ ।
धूमपानका कारणले हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
यसवर्षको नारा सुर्तीजन्य पदार्थको अवैधानिक व्यापार रोकौं भन्ने तय गरिएको छ । सुर्तीजन्य पदार्थको खपत कम गर्न प्रभावकारी निति निर्माण आवशयक रहेकोतर्फ दिवसले विश्व समुदायको ध्यान आकर्षण गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार धूमपानका कारणले प्रत्येक वर्ष ६० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालको तथ्यांकमा भने ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ ।
सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सकेपनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने अध्ययनले देखाएको छ ।
सरकारले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यवस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६