काठमाडौं । दुई वर्षीया गरिमा चौधरीको हत्या प्रकरणका मुख्य आरोपी भनिएका नाबालकको प्रहरी उपस्थितिमा सोधपुछ गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ।
भिडियोमा नाबालकले घटनामा आफू मात्र नभई प्रदीप खड्का नाम गरेका अर्का व्यक्तिको समेत संलग्नता रहेको दाबी गरेका छन्। उनले प्रदीपकै योजनाअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको र दुवैजनाले आपराधिक हर्कत गरेको बताएका छन्।
प्रहरी स्रोतका अनुसार भिडियो वास्तविक भएको प्रारम्भिक जानकारी भए पनि सोधपुछका क्रममा देखिएको व्यक्ति प्रहरी नभई स्वास्थ्यकर्मी रहेको दाबी गरिएको छ। आरोपीलाई मेडिकल जाँचका लागि कलैया अस्पताल लगिएको बेला अनौपचारिक रूपमा सोधपुछ गरी भिडियो खिचिएको बताइएको छ।
भिडियोमा प्रहरीको उपस्थिति, हत्कडी लगाइएका नाबालकसँग गरिएको सोधपुछ तथा उनलाई खाना खुवाउने आश्वासन दिइएको देखिन्छ। भिडियो सार्वजनिक भएपछि नाबालकसँग यसरी सोधपुछ गर्ने र भिडियो खिच्ने कार्यमा संलग्न व्यक्तिबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ।
यसअघि प्रहरीले घटनामा पक्राउ परेका दोस्रो व्यक्तिको नाम प्रोग्रेस चौधरी रहेको बताउँदै आएको थियो। तर लिक भएको भिडियोमा नाबालकले प्रदीप खड्काको नाम लिएपछि उनको सम्भावित संलग्नताबारे पनि चासो बढेको छ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३