सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की एक गर्भवतीको उद्धार गरेर काठमाडौँ लगिएको छ । गाउँपालिका–३ छेस्कामकी २२ वर्षीया देवीकला राईलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।
पाँच महिनाकी गर्भवती राईलाई कडा रक्तअल्पताका कारण उपचारमा समस्या भएको जिल्ला अस्पताल फाप्लुका प्रमुख डा मिङ्मार छिरिङ शेर्पाले जानकारी दिए । डा शेर्पाका अनुसार तीन पाउण्ड रगत दिएर त्यसको रियाक्सन (प्रतिक्रिया) शुरु भएपछि जीवन बचाउन काठमाडौँ सिफारिस गरिएको हो ।
पारिवारिक अवस्था अत्यन्त नाजुक भएकाले थप समस्या भएको गाउँपालिका अध्यक्ष सागर बताए । गाउँपालिका र अस्पतालको अनुरोधमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको पहलबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौं लगिएको छ । ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उद्धार गरिएको हो । उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६