भक्तपुर : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रमा अनशनमा बसेका नर्सहरुले १० बुँदे सहमति धोका भएको भन्दै अनशन जारी रहेको बताएका छन् ।
अस्पताल प्रशासनले झुक्याएर केही नर्सहरुसँग सहमति गरे पनि आफूहरुको मागका बारेमा कुनै सम्बोधन नभएको भन्दै आज १२ दिन पनि अनशन जारी रहेको बताएका हुन् ।
नर्सहरुको पक्षमा विभिन्न माग राख्दै शहीद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रमा अनशनरत नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल वसुन्धरामा अनशनरत नर्स जीता बरालले आफ्नो अनशन र आन्दोलन जारी रहेको बताए ।
गत आइतबार साँझ नर्सिङ संघको पहलमा मानव अंग प्रत्यारोपण केन्द्र र अनशनरत नर्सहरुबीच भएको १० बुँदे सहमति धोका भएको र आफूहरुलाई त्यसबारेमा कुनै जानकारी नै नदिई अफवाह फैलाएर उल्टो षडयन्त्र गरेको आन्दोलनरत नर्सहरुको आरोप छ ।
अनशनरत नर्स दिक्की शेर्पाले आफूलाई होस नआउने औषधि खुवाएर थाहै नहुने गरी जुस खुवाएर अरुले गरेको हस्ताक्षरलाई सहमति भयो भन्दै अफवाह फैलाउने कार्य भएको र अस्पताल प्रशासनले आन्दोलन तुहाउने षडयन्त्र गरेको आरोप लगाइन् ।
आफूहरुले अनशन नतोडेको र आन्दोलन तथा अनशन जारी रहेको शेर्पाले बताइन् । १० बुँदे सहमतिमा आफूहरुको कुनै माग सम्बोधन नभएकाले माग सम्बोधन नभएसम्म आन्दोलन र अनशन जारी रहने उनको भनाइ थियो ।
विगत १२ दिनदेखि अनशनरत दुवै नर्सको स्वास्थ्य अवस्था जटिल बनेको छ । अनशनरत नर्स दिक्की शेर्पालाई सोमबार राति नै ओम अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६