काठमाडाैं : अहिलेसम्म काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यका बाहिरै पाइने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल) लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएपछि यो सम्भव भएको हो ।
समितिको सचिवालयले गएकाे सोमबार उक्त अस्पताललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । समितिका सदस्य सचिव डा. गुणराज लोहनीद्वारा प्रेषित पत्रमा उक्त अनुमति दुई वर्षका लागि बहाल रहने बताइएको छ ।
पुरानो मेडिकल कलेजले गत मंसिर ३ गते अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयसँग कलेजो प्रत्यारोपण सञ्चालन गर्ने अनुमति माग्दै दरखास्त दिएको थियो । समितिले दरखास्तको जाँचबुझ तथा स्थलगत अनुगमन प्रतिवेदनसमेतको आधारमा मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध निर्देशिका, २०७५ को दफा ३ को उपदफा (२), खण्ड ‘ग’मा उल्लेख गरिएअनुसार कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो ।
सन् २०१५ अप्रिल २५ मा पुरानो मेडिकल कलेजले मिर्गाैला प्रत्यारोपण गर्ने अनुमति पाएर सफल मिर्गाैला प्रत्यारोपणसमेत गरिसकेको छ ।
सन् २०१५ मै मुटुको सफल ओपन हर्ट सर्जरीसमेत पुरानो मेडिकल कलेजले गरिसकेको छ । अब पनि मिर्गौला प्रत्यारोपण र ओपन हर्ट सर्जरीलाई निरन्तरता दिइने छ ।
मुलुककै केन्द्र भागमा रहेको निजी क्षेत्रको पुरानो मेडिकल कलेजले यस्तो अनुमति पाएकोले पूर्व–पश्चिम दुवैतिरका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।
अबको एक दुई महिनाभित्र नै कलेजले प्रत्यारोपणका लागि उपयुक्त बिरामीहरु छनोट गरी प्रत्यारोपण कार्य अगाडि बढाइने तथा सुरुको समयमा कलेजले प्रत्यारोपणमा सहयोग गर्नका लागि विश्वविख्यात कोरियन टोली र भारतीय चिकित्सकसहितको टोली आई प्रत्यारोपण गरिने अस्पताल स्रोतले बताएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६