काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेटमध्येबाट १० प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् ।
यसअघिको बजेटमा स्वास्थ्यतर्फ कुल बजेटको जम्मा ४.४ प्रतिशत छुट्याएको जानकारी दिँदै स्वास्थ्यमन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दस प्रतिशत पु¥याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताए ।
महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा बिहीबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्याइयो ।’ देशको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै भएको जनाउँदै उनले भने, ‘त्यसलाई कम्तीमा दस प्रतिशत पु¥याउन मैले प्रधानमन्त्री र योजना आयोगमा कुरा गरेको छु ।’
थाइल्यान्डमा कुल बजेटको २१ प्रतिशत बजेट विनियोजन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । कान्ति बाल अस्पतालको व्यवस्थापनलाई मन्त्री यादवले उपलब्ध स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् ।
कर्मचारी समायोजन सम्पन्न भएलगत्तै देशभरको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धता लगायतको समग्र अवलोकन एवं तथ्यांक संकलन गरी आवश्यक जनशक्ति र उपकरण देशैभरका अस्पतालमा पुर्याउन पहल गर्ने मन्त्री यादवले जानकारी दिए ।
टेकुस्थित परिवार स्वास्थ्य महाशाखाले करिब ८० लाख मूल्यको उपकरण बिहीबार कान्ति बाल अस्पताललाई उपलब्ध गराएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६