काठमाडौं : गर्मीको मौसममा तिर्खा लाग्नु स्वाभाविक हो । अझ नयाँ ठाउँ र शहरमा त पानीका धारा र मुहान पाउन मुस्किल नै छ । यदि तपाईं राजधानी काठमाडौंमा हुनुहुन्छ भने सतर्क हुनुहोस्- राजधानीको खानेपानीमा कोलिफर्म फेलापरेको छ ।
हैजा र महामारी फैलाउन सक्ने जीवाणु हो कोलिफर्म । ढल, नाली, दिसामा हुने यो जीवाणुले हैजा फैलाउने गर्छ ।
केही दिनअघि ताहाचलका एक पुरुषमा हैजाको जीवाणु देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ती व्यक्तिले प्रयोग गर्ने गरेको खानेपानीको नमुना संकलन गरेर परीक्षण गर्दा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएको पुष्टि गरेको छ ।
महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका-१३, हैजा संक्रमित बिरामीको घरबाट ल्याइएका तीनवटै स्रोतका पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको परीक्षण नतिजामा तीनवटै स्रोतका पानीमा प्रशस्त मात्रामा कोलिफर्म भेटिएको र पानीमा हैजाको जीवाणु नभेटिएको पाइएको छ।
खानेपानीको पाइपमा ढल मिसिनाले काठमाडौंबासीले खाँदै आएको पानीमा कोलिफर्म भेटिने गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६