खलङ्गाः यही वैशाख २२ गतेदेखि २४ गतेसम्म यहाँ सञ्चालन भएको आँखा शिविरमा नौ सय ५१ बिरामीले सेवा लिएका छन् ।
शिविरमा एक सय ८३ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको र एक सय चार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र जुम्लाका प्रमुख कालीबहादुर रावतले जानकारी दिए । शिविरको पहिलो दिन आइतबार चार सय जनाको आँखाको परीक्षण भएकामा ३७ को शल्यक्रिया गरिएको थियो । दोस्रो दिन तीन सय ५५ को आँखाको परीक्षण भएकामा ४० को शल्यक्रिया गरिएको रावतले बताए । शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले प्रत्येक वर्ष आँखाका बिरामीले घरआँगनमै उपचार गर्न पाउनु अवसर भएको बताए । गाउँमै शिविर सञ्चालन हुँदा यतायात खर्च, खाना खर्च देखि सबैको झन्झटबाट मुक्त भएको उनले जानकारी दिए । आगामी दिनमा जिल्ला प्रशासनको तर्फबाट सहयोग गर्न तयार उनले बताए ।
नेत्रज्योति संघ जिल्ला कार्यसमिति जुम्लाका सभापति तथा केन्द्रीय सदस्य धनबहादुर बस्नेतले सबै पक्षबाट राम्रो सहयोग भएको बताए । शाखालाई विस्तार गर्दै आँखा अस्पतालसम्म लैजानका लागि सबैको समन्वय र सहकार्यको आवश्यक रहेको बस्नेतको भनाइ छ । शिविरमा भएको सम्पूर्ण खर्चको विवरण एक हप्तापछि सार्वजनिक गरिने नेत्रज्योति सङ्घ जिल्ला कार्यसमिति जुम्लाका कोषाध्यक्ष कालीबहादुर महतले बताए ।
शिविर सञ्चालनका लागि चन्दननाथ नगरपालिकाबाट ५० हजार, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले तीन हजार, कान्जीरुवा होटलका नोर्वु लामाले पाँच हजार, प्रमुख जिल्ला अधिकारी बन्जाडेले एक हजार दुई सय ७५ र जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी सीताराम रिजालले एक हजार दुई सय ७५ रुपैयाँ सहयोग गरेकामा उनले धन्यवाद दिए । यस्तै खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट १० हजार, उद्योग वाणिज्य संघ जुम्लाबाट पाँच हजार सहयोग गरेको कोषाध्यक्ष कालीबहादुर महतले बताए ।
जुम्लामा आँखाका बिरामीले आफ्नै घरआँगनमा सस्तो र सुलभरूपमा सेवा लिन पाएकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । हिमालय आँखा अस्पताल पोखराको आयोजना तथा नेपाल नेत्रज्योति संघ जुम्ला शाखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६