भनिन्छ– शहर निर्दयी र निर्मोही हुन्छ । शहरमा स्वार्थ हुन्छ, मानिसहरू आत्मकेन्द्रित हुन्छन् र आफूबाहेक अन्यप्रति उनीहरूको खासै रुचि र चासो हुँदैन ।
शहर आफैँमा व्यस्तताको प्रतीक हो । त्यसमा आडम्बर, धोकाधडी र हिंसा पनि जोडिएको हुन्छ अचेल । काठमाडौंमा कोही आफ्ना हुँदैनन् वा कोहीसँग दया छैन पनि भन्ने गर्छन् । अझ गाउँघरमा त चोर र ठग बस्ने ठाउँ हो शहर पनि भन्छन् । छोराछोरी पढ्न काठमाडौं पठाउँदै गर्दा ‘चोर र ठगबाट जोगिनू’ भनेर आमाबुबाले पहिलो अर्ति दिने गर्छन् ।
तर काठमाडौं तीन महिना बसाइको क्रममा मैले भने म जस्ता सोझा र दया भएका मान्छे पनि भेटेको छु । बिहीबार बिहानै कोठाबाट घडी किन्न निस्किएँ । मनपरेको घडी थियो तर पैसाले पुगेन । त्यो पसलमा पहिलो पटक घडी किन्दै थिएँ म । चिनजान हुने कुरै भएन । तर साहुजीले भने– ‘भोलि ल्याउनू, भएको जति पैसा छोडिराख्नू ।’ यति भनेर ७० प्रतिशत उधारोमा घडी दिए उनले ।
त्यस्तै, मंगलबारको दिन म आलोकनगरबाट पैदल च्यासल जाँदै थिएँ । बाटो थाहा थिएन । एक जना ड्रेसमा रहेका विद्यार्थीलाई बाटो सोध्दै थिएँ, एउटा बाइकवालाले पुर्याइदिन्छु भनेर पुर्याइदिए । मलाई लाग्यो– इमान्दार हुनेलाई त्यही नजरले हेर्दा रहेछन् । तर कसरी चिन्छन् ? मैले धेरैलाई सोधेँ । अधिकांशको उत्तर आयो– ‘हेर्दा नै तिमी सोझो र दया लाग्ने छौ । किन दया नगरोस् !’ त्यही दिन सुन्धारबाट कात्यायनी चोक ट्याम्पोमा आउँदै थिएँ । अघिल्लो चालकको बाँयापट्टिको सिटमा बसेर आउँदै थिए । बीच बाटोमा कुराकानी सुरु भयो ।
‘तिमी त राई जस्तो देखिन्छौ नि !’, उनले भने ।
‘हो, कुलुङ राई हुँ’, मैले भनेँ ।
यस्तैयस्तै कुराकानीको क्रममा चालकको आफ्नै ट्याम्पो भएको र उनका जम्मा पाँचवटा ट्याम्पो रहेको चालकले बताए । अनि कात्यायनी चोक आइपुगेर भाडा दिँदा लिनै मानेनन् । उनले भने– ‘तिमी यतै बस्दारहेछौ । फेरि चढ्दा तिर्नू, अहिले पर्दैन ।’
सोमबार मेरो छुट्टीको दिन । व्यक्तिगत कामका लागि तीनकुनेबाट टेकु बसमा जाँदै थिएँ । आइतबार एउटा उपन्यास पढ्दै अबेरसम्म बसेकाले बिहानको ३ बजेको थाहै पाइनँ । बिहान ५ बजे अनलाइन पोष्टका लागि उठ्नै पर्यो । अनिँदो यात्राका कारण निदाएछु । टेकु पुग्नेबेला आँखा खुल्यो ।
थोत्रो झोलाबाट क्यामेरा निकालेर फोटो खिच्न थालेको, विविध सुझाव र समाचार लेख्न आग्रह पाउन थालेँ चालकबाट । अनि गन्तव्य पुरानो बानेश्वर पुगेर ट्याम्पो भाडा दिँदा ‘समाचार लेख्नुस्, भाडा पर्दैन’ भन्दै चालकले भाडा लिन मानेनन् ।
सहचालकलाई भाडा दिन खोज्दा त लिनै मानेनन् । ‘किन ?’ भनेर सोधेँ । मेरो छेउमा बसेको भाइले मेरोसहित भाडा तिरेर निस्किसकेको रहेछ । त्यो मेरो गाडी भाडा तिरिदिने भाइको अनुहार याद गरेको छुइनँ किनकि बस्दा वास्ता नै गरेको थिइनँ ।
यस्ता घटना अरू पनि धेरै छन् । काठमाडौंको बसाइ धेरै भएर धेरै कथा भएको होइन । छोटो समयमा याद गरिएका यस्ता घटनालाई जाड्ने कोसिस मात्र हो । दिन याद छैन तर सुन्धारादेखि रत्नपार्कसम्म एउटा ट्याम्पो चढेको थिएँ । पैसा दिँदा लिनै मानेनन् । ‘लिनुस् न’ भन्दा त सुझाव पो पाएँ– ‘बाबू, अलिअलि त हिँड्नुपर्छ । यति छोटो किन गाडी चढ्ने ? स्वास्थ्य रहन दैनिक अलिअलि हिँड्नू ल !’
अरू पनि दुईवटा घटना छन् । एक पटक मैतीदेवीबाट पुरानो बानेश्वरसम्मको यात्रामा थिएँ । सेतो पुलनेर लामो जाम भयो । किन यति धेरै जाममा परियो भनेर हेरेँ । एक जना बाइकचालक बाइकबाट निस्केर ट्राफिकको काम गर्दै गरेको देखेँ । थोत्रो झोलाबाट क्यामेरा निकालेर फोटो खिच्न थालेको, विविध सुझाव र समाचार लेख्न आग्रह पाउन थालेँ चालकबाट । अनि गन्तव्य पुरानो बानेश्वर पुगेर ट्याम्पो भाडा दिँदा ‘समाचार लेख्नुस्, भाडा पर्दैन’ भन्दै चालकले भाडा लिन मानेनन् ।
त्यस्तै, एक दिन सुन्धारा—चाबहिल लेखिएको ट्याम्पोमा चाबहिल जाने रहेछ भनेर केही नसोधी चढेँ । तर गौशालासम्म मात्र आउने ट्याम्पो रहेछ । ‘चाबहिल लेखिएको छ, किन नजाने ?’ भनेर सोधेको मात्र थिएँ, ‘कारण नखोज्नुस्, त्यही पैसाले चाबहिल जानुस्’ भन्दै भाडा लिन मानेनन् ।
‘ठीक छ, चाबहिल जान्छु तर यहाँसम्मको भाडा लिनुस्’ भन्दा पनि चालकले मानेनन् ।
गाडीमा र पसलमा नबिकेको मेरो पैसाको चर्चा गरेँ । अझै पनि मेरो पैसा नबिकेको घटना सकिएको छैन ।
मध्यबानेश्वरमा एक पटक दिउँसोको खाना खाएँ । त्यहाँ खाना सफा र मीठो लाग्यो । साहुजीसँग बोलचाल र गफगाफ भयो । सामान्य चिनजान थियो । नाम, थर, पेसाको विषयमा कुरा भएको थिएन । मात्र बोलचाल भइरहन्थ्यो । पछि दोहोरिएर खाजा खान गएको थिएँ– निःशुल्क खान पाएँ ।
सोझो हुँदा हुने फाइदा छ तर यहाँ सोझोपनको फाइदा उठाउनेको लर्काे पनि छ । त्यसबाट जोगिएर हिँड्न सकेको छुइनँ । यसबाट बच्न सोझो कुलुङलाई मुस्किल छ । बाठो हुने कक्षा लिएर बाठो हुने भए त ट्युसन लिन्थेँ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६