काठमाडौं । हिमाल आरोहणको उपयुक्त समय वसन्त र ग्रीष्म ऋतु मानिन्छ । त्यस ऋतुमा नेपालका दर्जनौँ हिमाल हजारौँ आरोहीले आरोहण गर्ने गर्छन् । तर यस वर्ष शरद ऋतुमा पनि उल्लेख्य आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।
अहिले शरद ऋतुको आरोहण गर्ने क्रम चलिरहेको छ । पर्यटन विभागको तथ्यांकअनुसार हालसम्म विभिन्न ४५ हिमशृंखला आरोहणका लागि १ सय ४८ आरोहण दलबाट १ हजार १ सय १८ जनाले अनुमति लिएका छन् । आरोहणका लागि अनुमति लिनेहरूमा ६२ देशका ८ सय ८० पुरुष र २ सय ३८ महिला रहेको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले बताए । केही आरोहीहरू जाने क्रममा छन् भने केहीले सफलता हासिल गरिसकेका छन् ।
यस वर्षको सगरमाथा आरोहण प्रयास भने असफल भएर टोली फर्किसकेका छन् । सगरमाथा आरोहण अनुमति लिएका २ समूहका १० जनाले आरोहण गर्न नसकेर फर्किएका हुन् । हिउँ जमेर बाटो बनाउन नसकिएकाले आरोहण दलका सबै सदस्य फर्केका हुन् । सगरमाथा अरोहणका लागि अनुमति लिनेहरुमा ४ जना अमेरिकन, ४ जान पोल्यान्ड, १ बेलायती र १ स्पेनिस नागरिक थिए ।
९ वर्षपछि शरद ऋतुमा सगरमाथा आरोहणको अनुमति लिए पनि आरोहण प्रयास सफल हुन नसकेकोे विभागले जनाएको छ । अन्य हिमालमा भने आरोहण भइरहेको छ ।
पर्यटन विभागका सूचना अधिकारी थापाका अनुसार यस वर्ष आमाडब्लम हिमाल आरोहणका लागि अनुमति लिने सबैभन्दा धेरै छन् । आमाडब्लम आरोहणका लागि २६ आरोहण दलका ३ सय १ आरोहीले अनुमति लिएका छन् । त्यसपछि मनास्लु हिमाल आरोहण गर्ने टोली धेरै छन् । ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि २७ आरोहण दलका २ सय ६४ जनाले अनुमति लिएका हुन् ।
यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण गर्न आएका आरोहीले सलामी दस्तुरबापत ६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । मनास्लु आरोहणबापत १ करोड ३३ लाख ५६ हजार ३ सय, आमाडब्लम आरोहणबापत २ करोड ७० लाख ८५ हजार ६ सय, सगरमाथा आरोहण शुल्कबापत ६३ लाख ११ हजार आठ सय, धौलागिरी हिमाल आरोहणबापत ३२ लाख ८ हजार ५ रुपैयाँ लगायत ४५ वटा हिमाल आरोहणको सलामी दस्तुरबापत जम्मा ६ करोड ३६ लाख ५ हजार २ सय २१ रुपैयाँ राजस्व संकलन भएको छ ।
पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाका अनुसार यो संख्या गत वर्षको तुलनामा बढेको हो । सूचना अधिकारी थापाका अनुसार नेपाल भ्रमण वर्षको राम्रो संकेत हो भने नेपालमा शान्ति कायम भएको तथा प्राकृतिक विपत्तिको जोखिम नभएकाले पर्यटक आकर्षित भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६