काठमाडौं । अघिल्लो दिन ७.१७ अंकले बढेको सेयर बजार शुक्रबार भने १०.६७ अंकले घटेको छ। बजार घटेसँगै नेप्से परिसूचक २६१८ अंकमा झरेको छ।
आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ।
आज कुल २७८ कम्पनीमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको मूल्य भने स्थिर रह्यो।
समूहगत परिसूचकतर्फ सबैजसो समूहमा गिरावट आएको छ। अन्य समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले घटेको छ। यस्तै व्यापार ०.६८, जलविद्युत् ०.६६, विकास बैंक ०.५४, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.४४, फाइनान्स ०.४३, जीवन बीमा ०.३७, लगानी ०.१९, होटल तथा पर्यटन ०.१० तथा बैंकिङ र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले घटेका छन्।
जलविद्युत् समूहमा सर्वाधिक कारोबार
समूहगत कारोबारमा जलविद्युत् समूहले अग्रता कायम राखेको छ। शुक्रबार जलविद्युत् समूहमा मात्रै २ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो कुल कारोबारको करिब ६० प्रतिशत हो।
त्यस्तै वाणिज्य बैंक समूहमा ३३ करोड तथा उत्पादन तथा प्रशोधन समूहमा ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सर्वोत्तम पेन्ट्सको मूल्य १५ प्रतिशत बढ्यो
हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य शुक्रबार १५ प्रतिशतले बढेको छ। पन्चकन्या माइ हाइड्रोको १३.८६ प्रतिशत, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.५१ प्रतिशत तथा हाथवे इन्भेस्टमेन्टको ४.९९ प्रतिशतले मूल्य बढेको छ।
यसैगरी धौलागिरि लघुवित्तको सेयर मूल्य ५.२६ प्रतिशत, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ४.१७ प्रतिशत तथा ग्रामीण विकास लघुवित्तको ३.८७ प्रतिशतले घटेको छ।
रकमका आधारमा सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडिल तमोर, माउन्टेन इनर्जी र साहस ऊर्जा क्रमशः अगाडि रहेका छन्।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३