गुल्मी : मुसिकोट नगरपालिका–४ दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखालाबाट एक बालकको मृत्यु भएकाे छ ।
स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजालीकाे मृत्यु भएकाे हाे । झाडापखाला लागेर बिरामी भएका बालकको उपचार नगरी घरमै बसिरहेको अवस्थामा शनिबार बेलुका ज्यान गएको हो । झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी परेका छन् । उनीहरुको अहिले गुल्मी अस्पतालमा उपचार भैरहेको छ ।
दजाकोटमा झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिराम हुनेको संख्या १ सय ७० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिए ।
स्थानीयहरुले उपभोग गर्दै आएको पानीको नमुना परिक्षण गर्दा पानीमा कोलिफर्म (दिसामा पाइने ब्याक्टेरिया) देखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले बताएको छ ।
झाडापखालाबाट बिरामी परेकाहरुको गुल्मी अस्पताल, भरतपुर मेडिकल कलेज चितवन र दजाकोटमा नै सञ्चालन गरिएको शिविरमा उपचार भैरहेको छ ।
दजाकोटमा फैलिएको झडापखालाको मुख्यकारण पत्ता लगाउनका लागि विश्व स्वास्थ्य संगठनको तर्फबाट डाक्टर प्रियंका श्रेष्ठको नेतृत्वको टोली शनिबार प्रकोप क्षेत्रमा आइपुगेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६