जाडोको बेला होस् या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना बिमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाहा होला ।
बेलायतका एक शोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुसी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ ।
डा डेनियल भन्छन, जब मानिसमा एक्कासी डर, खुसी वा आश्चर्य पैदा हुन्छ शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कन्छ । यसले रौँको फेदमा रहेका ससाना मांसपेशी खुम्च्याइदिन्छ । जसबाट रौँको फेदका छालाको तन्तुहरू ठाडो र कडारूपमा माथि उठ्छ । त्यसैलाई नै हामीले काँडा उठेको भन्ने गर्छौं ।
यस्तो काँडा मानिसमा मात्रै होइन जनावरमा देखिने गर्छ । तर उनीहरूको शरीरमा हुने रौँका कारणले हामी देख्न सक्दैनौँ । जनावरहरू जब खतराको महसुस गर्छन् तत्काल काँडा उठाई आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन् ।
जनावरहरूमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीरभित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्छ । तर मानिसमा जनावरमा जस्तो बाक्लो रौँ नहुनाले काँडा उठेर पनि कुनै फाइदा नहुने डेनियलको तर्क छ । उनी भन्छन, मानिसमा काँडा उठेर न न्यानो हुन्छ न त दुस्मननै भगाउन सकिन्छ । -एजेन्सीको सहयोगमा
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६