काठमाडौं : नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सहयोग गर्नुपर्ने आवश्यकता छ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको बिहीबार भएको वार्षिक साधारणसभामा सहभागीले नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताएका छन् ।
राष्ट्रियसभाका सदस्य एवं प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिँडारीले विमानस्थलमा सञ्चालित सवारीसाधनले आन्तरिक तथा बाह्य पर्यटकलाई भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताए । ‘विमानस्थलमा सञ्चालित यातायात सेवाले विमानस्थलबाट गन्तव्यस्थलसम्म मात्र होइन, गन्तव्यस्थलबाट विमानस्थलसम्म समेत सेवा दिनुपर्छ’, उनले भने ।
विमानस्थलमा सञ्चालित सवारीसाधनका चालक तथा सहचालकले विदेशी पाहुनालाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । सभापति बिँडारीले नियम र कानुनमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गरे । ‘निजी सवारीसाधनले यात्रु बोक्न पाइँदैन, निजी सवारीसाधनले यात्रु बोके राज्यले कारबाही गर्नुपर्छ’, उनले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले देशभरीको यातायात क्षेत्रको सुधारका लागि महासङ्घले काम गरिरहेको बताए । ‘यातायात क्षेत्रलाई चुस्त र दुरुस्त ढङ्गले सञ्चालन गर्न सरकारले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ’, उनले भने ।
प्रदेश नं ३ का प्रदेशसभा सदस्य जगत सिंखडाले यातायात क्षेत्रलाई व्यवस्थित नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुन नसक्ने बताए । बाह्य पर्यटकको पहिलो नजर विमानस्थलमा सञ्चालित यातायातसेवामा पर्ने भएकाले त्यहाँका सवारीसाधनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पर्यटकको नेपाल प्रवेशद्वारा विमानस्थल भएकाले उनीहरूलाई राम्रो व्यवहार, आचरण र सत्कार गर्नुपर्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले निजी सवारीसाधनले कानुन विपरीत यात्रु बोकेर हिँड्दा सरकार मौन रहेको बताए । ‘निजी कारमा कानुन विपरीत यात्रु बोक्दा सरकार किन मौन बस्छ ?’, उनले प्रश्न गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले विमानस्थलमा सञ्चालित सवारीसाधनका चालकले अनिवार्य पोसाक लगाउनुपर्ने बताए ।
व्यवस्था लिमिटेडका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले आन्तरिक तथा बाह्य पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रूपमा विकास गर्दै लगिएको बताए ।
हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यातायात सुविधा दिन २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल २०८ सवारीसाधनमार्फत् सेवा प्रदान गर्दै आएको अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५