काठमाडौं : अपांगता भएका व्यक्तिलाई अझै पनि हाम्रो समाजले खासै चासो दिँदैन । त्यसैले उनीहरू अपहेलित जीवन जिउन बाध्य हुन्छन् ।
केन्यामा कुनै बच्चा अपांगता भएको जन्मियो भने ‘बोक्सीको श्राप लागेको’ भन्दै अपहेलना गर्ने तथा यस्ता बच्चाहरूको हत्या नै गर्न उक्साउने गरेको त्यहाँका ६६ प्रतिशत आमाहरूको अनुभव छ । तर अपांगता भएकाले अवसर पाए भने साङ्गले जस्तै राम्रो काम गर्न सक्छन् भन्ने हेर्नचाहिँ त्यति टाढा जानुपर्दैन ।
काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै रहेको द बेकरी क्याफेमा जाने हो भने अपांगता भएकाहरूले कति सहज रूपमा सेवा प्रवाह गर्न सक्छन् भन्ने देख्न सकिन्छ । रवीन्द्र श्रेष्ठ बेकरी क्याफेका १३ जनामध्ये एक जना वेटर हुन् । उनले त्यहाँ काम गरेको धेरै भइसक्यो । उनी कामबाट सन्तुष्ट छन् र त्यहीँबाट आएको आम्दानीले आफ्नो परिवार मजाले चलाएका छन् ।

यो क्याफेमा उनी जस्ता १३ जना वेटरहरू छन् । फरक फरक स्थानबाट काम गर्न आएका उनीहरूको शारीरिक, मानसिक वा संवेदनात्मक रूपमा अपांगता हुनु ठूलो कुरा होइन । तर भएको सीप र अंगको सदुपयोग नगर्नुचाहिँ अपांगता हो भन्ने उदाहरण दिएका छन् ।
यहाँ काम गरेर उनीहरूले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दीक्षाका लागि खर्च गर्न सकेका छन् । सामाजिक उपेक्षालाई चिरेर व्यावसायिक क्षेत्रमा आएका उनीहरू यतिबेला अपांगता भएकै कारण हीनताबोध गर्नेहरूका लागि उदाहरण बनेका छन् भने साङ्गहरूका लागि सकारात्मक चुनौती पनि खडा गरिदिएका छन् ।

क्याफेमा काम गर्दै आएका रवीन्द्र आफूले गरेको कामबाट आएको तलबले परिवारको व्यवस्थापन गज्जबले हुने बताउँछन् । यसैबाट भएको आम्दानीले उनले छोरीको पढाइ खर्च पनि धान्दै आएका छन् ।
‘समाजमा गलत आसयले हेर्ने र बोलाउने गरिन्थ्यो । त्यसैले आफूले नै केही गर्नुपर्छ भन्ने मानसिकता बनाएर मैले होटलमा काम गर्न थालेँ’, उनले भने, ‘अहिले मेरो आलोचना गर्नेहरूका अघि शिर ठाडो पारेर उभिन सक्ने भएको छु ।’
चितवनको भरतपुरका गणेश बराकोटी १० वर्षदेखि द बेकरी क्याफेमा काम गरिरहेका छन् । उनी बोल्न सक्दैनन् तर उनले लेखेर लामो समय कुराकानी गरे । अन्य सेवाग्राही क्याफेमा आउँदा वेटरका रूपमा उनले बुझाउने भाषामा नै कुराकानी भयो ।
उनले क्याफेमा वेटर काम गरेवापतको आम्दानीबाट एक छोरा र एक छोरीको पढाइ खर्च धानिरहेका छन् । आमाबाबुलाई पनि यसैबाट खर्च दिन्छन् । आफूले गरेको कामको सम्मानसँगै गरेको कामले राम्ररी जीवन चलिरहेकाले आफू सन्तुष्ट रहेको उनले बताए ।
उनी भन्छन्, ‘शरीरका अंग नचल्नु जन्मजात समस्या भए पनि भएका अंगको सदुपयोग नगर्नु सबैभन्दा ठूलो समस्या हो ।’ उनका नजरमा अपांगता हुनु एउटा समस्या हो तर साङ्ग भएर पनि सीप र श्रम सदुपयोग नगर्नुचाहिँ ठूलो अपांगता हो ।
दोलखाका रामचन्द्र कार्कीका पनि दुई जना छोराछोरी छन् । उनीहरूको पढाइ खर्च र घर खर्चसमेत उनले यहीँबाट जोहो गरिरहेका छन् । उनको आम्दानी अन्य साङ्गको भन्दा कम छैन । उनी वेटरको तालिमपछि यहाँ काम गर्न आएका हुन् । खाजा र खाना यहीँ खान्छन् । आफ्नो तलबबाट कोठा भाडा तिर्छन् र बाँकी रहेको सबै पैसा घर पठाउँछन् ।
द बेकरी क्याफेका काम गर्ने सबै वेटरको दैनिकी र आम्दानीको सदुपयोग उनीहरूको जस्तै सबैको चलेको छ । उनीहरू सबै समाजले फरक नजरले हेर्ने व्यक्तिमध्येमा नै पर्छन् । ‘समाजबाट हुने यो उपेक्षालाई उनीहरूले शक्तिको रूपमा प्रयोग गरेका छन् र आफूहरू कुनै पनि हिसाबले अक्षम नरहेको उदाहरण प्रस्तुत गरेका छन्’, क्याफेका म्यानेजर निर्मल शाह भन्छन्, ‘वास्तममै आफ्नो क्षमता नचिन्नेहरूका लागि उनीहरू गतिलो उदाहरण बनेका छन् ।’
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५