काठमाडौं । लगातार चार कारोबार दिन घटेको सेयर बजार बिहीबार ७.१७ अंकले बढेको छ।
बिहीबारको वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६२९ अंकमा पुगेको छ। कारोबारका क्रममा नेप्से २ हजार ६०८ अंकसम्म झरे पनि अन्तिम समयमा बजार क्रमशः उकालो लागेको थियो।
बिहीबार कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भयो। १३२ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनी घटेका छन् भने १३ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहतर्फ जलविद्युत् उपसमूह ०.९९ प्रतिशतले बढेर सबैभन्दा अगाडि रह्यो। बैंकिङ ०.२८, लगानी ०.०५, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.७६ र अन्य समूह ०.०९ प्रतिशतले बढे।
यता विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह भने घटेका छन्।
समूहगत कारोबारमा जलविद्युत् क्षेत्र अगाडि रह्यो। कुल कारोबारको ५१.५९ प्रतिशत अर्थात् २ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार हाइड्रोपावर कम्पनीमा भएको थियो।
बिहीबार सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो। माण्डु हाइड्रोपावर, सानिमा मिडिल तमोर, सानिमा माई हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य पनि बढेको छ।
यता खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.९७ प्रतिशतले घटेको छ। सप्तकोशी विकास बैंक, नेपाल वेयरहाउजिङ र हाथवे इन्भेस्टमेन्टको मूल्य पनि घट्यो।
रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, सुपरमादी हाइड्रोपावर, सानिमा मिडिल तमोर, माउन्टेन इनर्जी र रिडी पावर अगाडि रहे।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३