सिञ्जा : नेपाली सेनाको श्रीदल गुल्मको आयोजनामा छायानाथ रारा नगरपालिका–९ मुर्माको माझघट्टमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । श्रीदल गुल्मको आयोजना र श्री नं २४ फिल्ड एम्बुलेन्स गुल्म जुम्लाको नेपाली सेनाको स्वास्थ्य टोलीको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा झन्डै ३०० बढी स्थानीयवासीको स्वास्थ्य परीक्षण र उपचार गरिएको गुल्मले जनाएको छ ।
विकट गरीब बस्तीमा औषधि उपचारबाट वञ्चित रहेका स्थानीय नागरिकको स्वास्थ्यमा सुधार ल्याउन शिविरमा जनचेतनासहित ६० प्रकारका औषधि निःशुल्क वितरण गरिएको थियो । शिविरमा सहभागी भएकामध्ये अधिकांश महिलामा पाठेघर खस्ने र तल्लो पेट दुख्ने समस्या रहेको पाइएको छ । साथै स्थानीयवासीमा ढाड दुख्ने, ग्याष्टिकको समस्या र बालबालिकामा कान पाक्ने समस्या बढी देखिएको उपचारमा संलग्न नेपाली सेनाका डा विनोद थापाले जानकारी दिए ।
शिविरमा नगरपालिकाका मुर्मा, पिना, तुम तथा खत्याड गाउँपालिकाका सेरी, जुम्फै, निगालीबोटका स्थानीयवासी स्वास्थ्य परीक्षण गराउन आएका थिए । शिविरमा निःशुल्क जाँचका साथै औषधि पाइयो, हामी गरीब, दुःखी औषधि उपचारका लागि सुविधासम्पन्न ठाउँमा जान पाइँदैन , रारा छायानाथ–५ ढुमगाउँकी बाचुरुपा विकले भनिन्, यो शिविरले हामी गरीबको निकै उद्धार गरेको छ । रासस
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५