भोजपुर : दुर्गम पहाडी जिल्ला भोजपुरमा हालसम्म एकाउन्न जना क्षयरोगका बिरामी देखिएका छन् ।
गएको आर्थिक वर्ष २०७४/०७५ र ०७५ कात्तिक महिनासम्मको तथ्यांकले जिल्लामा ५१ जना बिरामी देखाएको स्वास्थ्य कार्यालय भोजपुरका जनस्वास्थ्य अधिकृत विनोद मिश्रले जानकारी दिए । जनस्वास्थ्य अधिृकत मिश्रका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २८ जना क्षयरोगका बिरामी देखिएका छन् भने गत साउनदेखि कात्तिकसम्म थप २३ जना बिरामी भेटिएका छन ।
भोजपुरमा पहिलो चरणका बिरामी देखिने गरेको जनस्वास्थ्य अधिकृत मिश्रले जानकारी दिए । उनका अनुसार पहिलो चरणका बिरामीले छ महिनादेखि नौ महिनासम्म स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गर्नुपर्ने हुन्छ ।
विश्व क्षयरोग दिवसका अवसरमा आइतवार स्वास्थ्य कार्यालयले गरेको पत्रकार अन्तर्क्रियामा नेपालमा ८० हजार क्षयरोगका बिरामी देखिएको बताउँदै जनस्वास्थ्य अधिकृत मिश्रले स्थानीय तहबाट स्वास्थ्यसम्बन्धी विवरणहरू समयमा नआउँदा एकीन तथ्यांक संकलनमा भने समस्या भएको बताए ।
क्षयरोगका बिरामीहरूका लागि जिल्ला अस्पतालमा दोस्रो चरणको उपचारका लागि तयारी समेत सुरु गरिएको छ । दोस्रो चरणका बिरामीले २० महिनादेखि २४ महिनासम्म नियमित औषधि सेवनका साथै उपचार गर्नुपर्ने हुन्छ । क्षयरोगको पहिलो चरणको मात्र उपचार गर्न सकिएकोमा अब जिल्लामा स्वास्थ्यकर्मी पनि व्यवस्था भएको र सामग्री पनि आएकाले सेवा सुरु गर्न तयारी भइरहेको जनस्वास्थ्य अधिकृत मिश्रले बताए ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५