पाल्पा : पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रम अन्तरगत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिए ।
स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उनले आग्रह गरे । पछौटेपन उन्मूलन समाज (बेस) नेपालअन्र्तगत सञ्चालित सुआहाराको सहयोगमा सीम कार्ड वितरण गरिएको हो ।
बच्चा गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्मका आमाहरुबीच निःशुल्क मोबाइलमा कुरा गरी स्वास्थ्य र पोषणसम्बन्धी सूचनामूलक सन्देश पनि पाउन सकिने सहजकर्ता भगीसरा सुनारीले बताए । सीम कार्डमा रु २० को बोनस र एक सय मेगाबाइट डाटा रहेको छ ।
यसैगरी पूर्वखोला गाउँपालिका –२ जल्पामा पनि २४ जना सुनौलौ हजार दिनका आमाहरुलाई स्मार्ट सीमकार्ड वितरण गरिएको छ ।
-रासस
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५