मानिसलाई स्वस्थ रहनका लागि निद्रा अपरिहार्य भएको एक अध्ययनबाट पत्ता लागेको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले मानिसको जीवनमा निद्रा आवश्यक भएको पत्ता लगाएका हुन् ।
उनका अनुसार निद्रा सबैका लागि निःशुल्क उपलब्ध हुने भएकाले यो स्वास्थ्यवर्द्धक छ । त्यसैले दीर्घ जीवनका लागि निद्रा आवश्यक छ । ५० वर्षको अनुसन्धानपश्चात् अबको विषय निद्राले के गर्छ भन्ने होइन कि निद्राले फाइदा नगर्ने केही छ कि भन्नेमा केन्द्रित हुन थालेको
छ ।
कम निद्राको असर
निद्रा नपुगेमा हाम्रो शरीर र मस्तिष्कले राम्ररी काम गर्दैन । अहिलेसम्मका अध्ययनबाट निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुनै कुरा पत्ता लगाउन सकेका छैनन् । विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निद्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो ।
विश्वमै मानिसको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेसन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध रहेको अध्ययनले देखाएको छ ।
निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको नवीकरण हुन्छ । निद्रा पुगेन भने तिनमा असर पर्छ । अध्ययनबाट निद्रा कृत्रिम नभई प्राकृतिक हुनुपर्ने पत्ता लागेको छ । निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ ।
कम्तीमा ७ देखि ९ घण्टा सुत्नैपर्ने
निद्रा हाम्रा लागि अत्यावश्यक छ।
विकसित मुलुकमा मात्र होइन कम विकसित मुलुकमा समेत हिजोआज मानिसहरू कम सुत्न थालेको स्पष्ट हुन्छ । मानिसहरू सय वर्षअघिको भन्दा औसतमा कम सुत्छन् ।
दैनिक ७ देखि ९ घण्टा सुत्दा मात्र पर्याप्त निद्रा पुग्छ ।
पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सिर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ । ७ घण्टाभन्दा कम सुत्ने मानिसको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ । -बिबिसी न्युज
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५