काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संस्थाहरू भद्रगोल अवस्थामा पुगेका छन् । पार्टी सञ्चालन नै भद्रगोल बनिरहेका बेला भातृ संस्थामा पनि त्यसकै छाया देखिएको हो ।
कांग्रेसको नेपाल विद्यार्थी संघको केन्द्रीय समिति नै छैन । उता, तरुण दलमा चार पदाधिकारी मात्र छन् । महाधिवेशनका लागि आफैले तय गरेको समय सकिइसक्दा प्रेस युनियनको महाधिवेशनको नयाँ मिति तोकिएको छैन ।
पार्टीका भातृ संस्थाहरू भद्रगोल रहेको स्वीकार गर्छन्, कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे । ‘यो भद्रगोललाई अन्त्य गर्नुपर्छ । भातृ संस्थालाई चुस्तदुरुस्त राख्न पार्टी उदासीनजस्तो देखिएको छ,’ घिमिरे भन्छन्, ‘नेविसंघ गठन, तरुण दल विस्तार र मिति सकिएका भातृ संस्थाको महाधिवेशन छिट्टै गरिनुपर्छ । त्यसका लागि केन्द्रीय समितिले सभापतिज्यूलाई जिम्मा दिइसकेको छ ।’
कांग्रेस पार्टीभित्रको गुटउपगुटको छाया भातृ संस्थामा देखिँदा तिनको अवस्था भद्रगोल बन्न पुगेको छ ।
छैन नेविसंघ !
०२७ साल वैशाख ६ गते स्थापना भएको नेविसंघ कांग्रेसमा कार्यकर्ता उत्पादनको ‘नर्सरी’ मानिन्छ । तत्कालीन पञ्चायती सत्ताले अवैध भन्दै प्रतिबन्ध लगाएको नेविसंघ सर्वोच्च अदालतमा मुद्दा जितेर वैधता पाएको संस्था हो । कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं नेविसंघको केन्द्रीय अध्यक्ष हुँदै राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । उपसभापति विमलेन्द्र निधि पनि नेविसंघका पूर्वअध्यक्ष हुन् । सहमहामन्त्री प्रकाशशरण महत संघका पूर्वमहामन्त्री हुन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा स्वयं संघका पूर्वअध्यक्ष हुन् । कांग्रेस र कांग्रेस प्रजातान्त्रिक हुँदाका नेविसंघ अध्यक्षहरू प्रदीप पौडेल र कल्याण गुरुङसम्म अहिलेको कांग्रेस केन्द्रीय समितिमा छन् । कांग्रेस केन्द्रीय समितिमा नेविसंघकै विभिन्न जिम्मेवारी निर्वाह गरेर आएका नेताहरूको बाहुल्यता छ । तर, विडम्बना नेविसंघकै हालत भने दयनीय बन्न पुगेको छ । अहिले नेविसंघको केन्द्रीय कार्यसमिति नै छैन ।
संघको ११औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित नैनसिंह महरको कार्यसमितिले पटकपटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेपछि राजिनामा दिएका थिए । गत माघ २९ गते कांग्रेस केन्द्रीय समिति बैठकले महर समितिको कार्यकाल सकिएकाले धन्यवाद दिएर बिदा गर्यो । त्यसयता नयाँ कार्यसमिति ल्याउने प्रयास भए पनि सफल हुन सकेको छैन । ३२ वर्षे उमेरहद लगाउने कि नलगाउने भन्ने विषयले कांग्रेसभित्र तीव्र मतभेद छ ।
संघका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे छिटै नेविसंघ गठन गर्नुपर्ने बताउँछन् । त्यसका लागि सभापति देउवालाई जिम्मा दिइएकाले छिटै कार्यसमिति आउनेमा घिमिरेले आशावादी रहेको बताए । तर, संघ कार्यसमिति विहीन भएको एक महिना हुनै लाग्दासमेत नयाँ समितिको अन्योल कायमै छ । केही जिल्लामा अधिवेशन भए पनि धेरै जिल्लामा अधिवेशन नै हुन बाँकी छ । संघमा अध्यक्ष बन्न अहिले एक दर्जनभन्दा बढी नेता दौडमा लागेका छन् । ३२ मुनि कि माथि भन्ने विवाद अझै टुंगिसकेको छैन ।
तरुण दल, चारकै भर
कांग्रेसको महत्वपूर्ण भातृ संस्था मानिन्छ, तरुण दल । तर, तरुण दलको पनि पूर्ण कार्यसमिति छैन । जिल्ला अधिवेशन सकेर पोखरा महाधिवेशनमा उत्साह बोकेर पुगेका महाधिवेशन प्रतिनिधिले मत हाल्नै पाएनन् । पार्टीले हस्तक्षेप गरेरै अघिल्लो मंसिर १ गते तरुण दल चार सदस्यीय बनाएर प्रतिनिधिहरूलाई घर फर्काइदियो । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र स्वर्गीय खुमबहादुर खड्काको तर्फबाट १÷१ जना नियुक्त भए । तर अहिलेसम्म कार्यसमिति विस्तार हुन सकेको छैन ।

दलका महासचिव भूपेन्द्रजंग शाही छिट्टै कार्यसमिति विस्तार गर्नुपर्ने बताउँछन् । ‘पार्टीलाई कार्यसमिति विस्तारका लागि हामीले पटकपटक आग्रह गरिसकेका छौं,’ महासचिव शाहीले भने, ‘तरुण दलको कार्यसमिति विस्तार गर्ने कुरामा पार्टीकै भूमिका रहन्छ । हामीले चाहेर मात्र हुँदैन ।’ उनले विगतमा संगठनमा काम गरेका धेरै नेता, कार्यकर्ता समेटेर अघि बढ्दा तरुण दल थप सशक्त हुने भन्दै त्यसतर्फ सभापतिको ध्यानाकर्षण समेत गराइसकिएको बताए । तर, कहिलेसम्म कार्यसमिति विस्तार हुन्छ कुनै टुंगो छैन । पार्टीभित्रका गुटहरूबीच भागबण्डा नमिल्दा तरुण दल विस्तारमा समस्या भइरहेको सभापति देउवा निकटस्थहरू बताउँछन् ।
म्याद सकियो, महाधिवेशन कहिले ?
कांग्रेसको शुभेच्छुक संस्था हो, नेपाल प्रेस युनियन । अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यसमेत रहेको प्रेस युनियनको पनि कार्यकाल सकिइसकेको छ । नियमित कार्यकाल तीन वर्ष र बढीमा एक वर्ष थप गर्न पाइने युनियनको विधानमा उल्लेख छ । यसरी थप गरेको मिति पनि समाप्त भइसकेको छ । गत मंसिर २७ र २८ गते तय गरेको महाधिवेशनको मिति पनि व्यर्थै गयो । तर, नयाँ मिति भने अझै तोकिएको छैन । महाधिवेशनका लागि तय गरेको म्याद सकिँदा पनि केन्द्रीय समित बैठक नै बसेको छैन ।
युनियनका महासचिव अजयबाबु शिवाकोटी छिट्टै महाधिवेशनको मिति तय हुने बताउँछन् । उनका अनुसार युनियनका ८७ शाखा मध्ये ६९ शाखाको अधिवेशन सम्पन्न भइसकेको छ । ‘महाधिवेशन अब छिटै गर्नुपर्छ । वैशाख दोस्रो साता महाधिवेशन हुनसक्छ,’ महासचिव शिवाकोटीले भने ।
कार्यकाल सकियो, कार्यसमिति बाँकी
नेपाल दलित संघ, नेपाल किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको अवधि सकिएको छ । तर महाधिवेशन कहिले हुन्छ कुनै टुंगो छैन । तर, कार्यकाल सकिए पनि ती संस्थाहरू पुरानै कार्यसमितिले नै चलाइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५