काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने सहमति नभएको स्पष्ट पारेका छन् । आइतबार संसद बैठकमा सांसद्हरुले जनमत संग्रह गराउने सहमति भएकोबारे प्रश्न गरेपछि जवाफमा गृहमन्त्री थापाले सो स्पष्टिकरण दिएका हुन् ।
‘स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति भएको छैन,’ गृहमन्त्री थापाले भने, ‘जनमत संग्रहकाे सहमित भएको छ भनेर भनियो भने त्यो ११ बुँदे सहमति विपरित हुन्छ ।’ केही सांसदले बाह्य दबावमा परेर सहमति गरेको त होइन भन्ने प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले सहमति गर्न कुनै दबाव नआएको बरु सहमतिपछि दबाव दिन खोजेको महसुस भएको बताए ।
शुक्रबार ११ बुँदे सहशमति भएपछि मधेसमा स्वतन्त्र मधेसका लागि जनमत संग्रह गर्न सरकार तयार भएको भन्दै राउतका कार्यकर्ताहरुले दिपप्रज्जवलन नै गरेका थिए ।
शंका २ नम्बर बुँदामा
सरकार र स्वतन्त्र मधेस गठबन्धनबिच भएको सहमतिको २ नम्बर बुँदालाई गठबन्धनले जमत संग्रह भने पनि सांसदहरुले सरकारको जवाफ मागेका हुन् । सहमतिको बुादा नम्बर २ मा जनअभिमत शब्द उल्लेख छ,जनमत संग्रह छैन । बुँदा नम्बर २ मा यस्तो छ, ‘हामी आफ्ना राजनीतिक,सामाजिक,आर्थिक लगायतका उद्धेश्य प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेस लगायत कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।’
हेर्नुहोस् :

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५