सन्दर्भ १ : बिहीबार दिउँसो सर्वोच्च अदालतले आदेश गर्यो- सिके राउतलाई जेलबाहिर राखेर अनुसन्धान गर्नू । अदालतको आदेशलगत्तै राउत रिहा भए ।
सन्दर्भ २ : शुक्रबार बिहानै खबर आयो- सिके राउतले नयाँ पार्टी खोल्दै छन् । ‘राजनीतिक सहमति घोषणा कार्यक्रम’ ब्यानरमा राष्ट्रियसभागृहमा प्रधानमन्त्री केपी ओली र राउत एउटै मञ्चबाट सम्बोधन गर्दै छन् । धेरैलाई ‘सरप्राइज’ लागेको यो खबरको सत्य पुष्टि गरिदिए प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले । प्रधानमन्त्री ओली अहिले राउतकै कार्यक्रममा छन् ।
नियोजित कि आकस्मिक ?
सामान्तयाः प्रधानमन्त्रीको समय मिलाउनका लागि केही दिन त लाग्छ नै । सार्वजनिक कार्यक्रममा बढी नै व्यस्त हुने प्रधानमन्त्री ओलीको समय पाउन त झन् कुर्नै पर्ने हुन्छ । तर अघिल्लो दिनसम्म जेलमै रहेका व्यक्तिको रिहालगत्तै तय भएको कार्यक्रममा प्रधानमन्त्री जाने खबरले केही स्वाभाविक प्रश्नहरू जन्माएको छ । के राउतको कार्यक्रम पूर्वनिर्धारित थियो ? प्रधानमन्त्रीलाई रिहा भएपछि अतिथिका लागि खबर भयो कि जेलभित्रै रहँदा ? यदि जेलभित्रै हुँदा कार्यक्रमको तयारी भएको भए राउत र प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतमा बिहीबारका लागि पेसी चढेको राउतको मुद्दाको फैसला के आउँदै छ, पूर्वानुमान थियो ? हतार हतार तय भएको र सरकारले महत्त्व दिएको ‘राजनीतिक सहमति घोषणा कार्यक्रम’ले उठेका यी प्रश्न अहिलेसम्म अनुत्तरित छ । सायद कार्यक्रम अवधिमा यी प्रश्नहरूको गाँठो फुकाउलान् नै ओली र राउतले ।
राउतको ‘यू टर्न’ कि नयाँ रणनीति !
स्वतन्त्र मधेस गठबन्धनका नाममा राउतले विखण्डनकारी गतिविधि गर्दै आएको आरोपमा सरकारले पटक पटक पक्राउ गरेको छ । पछिल्लो पटक उनको गिरफ्तारीको कारण पनि त्यही थियो । ०६८ मध्य चैतमा खुला मञ्चमा बुद्धिजीवीका रूपमा सम्बोधन गर्न उभिएका राउत फर्केर मधेस पुग्दा ‘मधेस नेपाल होइन, अलग राज्य हो’ भन्ने पृथकतावादी अभियानमा लागे । उनले राष्ट्रिय रूपमा पहिचान भने बाबुराम भट्टराई संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको संयोजक हुँदा पाए ।
दोस्रो संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका संयोजक भट्टराईले पत्र नै लेखेर सिंहदरबारमा आयोजित छलफलमा राउतलाई निम्तो दिए । ०७१ भदौ पहिलो साता भएको छलफलमा स्वतन्त्र मधेसको वकालत गरे । राउतले राज्यसँग छुट्टिन पाउने अधिकार संविधानमै सुनिश्चित गर्नुपर्ने पृथकतावादी विचार राखे । करिब सात वर्षदेखि दर्जनौँ पटक पक्राउ पर्दा पनि नगलेका राउत अहिले एकाएक कसरी यू टर्न भए ? प्रधानमन्त्री निकट स्रोतका अनुसार राउत मूलधारको राजनीतिमा आउन चाहेकाले सरकारले सहजीकरण गरेको हो । तर के साँच्चै सिके राउत विखण्डनकारी अभियान छोडेर मूलधारमा आउनै लागेका हुन् वा नयाँ रणनीति बनाउन अल्पकालीन रूपमा आफ्नो योजना फेरेका हुन् ? धेरैले सामाजिक सञ्जालमा शंका व्यक्त गरेका छन् । त्यसरी व्यक्त शंकालाई राउत आफैँले बल पुर्याएका छन् । तर प्रधानमन्त्री निकटस्थहरू भने पटक पटक जेल पर्दा राउत गलेको दाबी गर्छन् ।
के जनमतसंग्रहका लागि सरकार तयार भएको हो ?
सरकारले दाबी गरेको जस्तो पृथकतावादी आन्दोलन त्यागेर राष्ट्रिय अखण्डताका पक्षमा राउत उभिन लागेको तर्क केही बेर पनि टिक्न सकेन । ‘राजनीतिक सहमति घोषणा कार्यक्रम’ सभागृहमा सुरु नहुँदै राउतले आफ्नो फेसबुक वालमा लेखे, ‘नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनसँग भएको वार्तामा नेपाल सरकारले मधेसको माग जनअभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमतसंग्रह) मार्फत् पुरा गर्ने प्रतिवद्धता जनाएको छ । यसका साथै स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दाहरू फिर्ता हुने भएको छ । साथै स्वतन्त्र मधेस गठबन्धनले आफ्नो कार्यालय विभिन्न जिल्लामा खोलेर खुला रूपले राजनीति गर्ने भएको छ ।’

राउतले मधेसको माग भनेर स्वतन्त्र मधेस, अलग मधेस भन्दै आएका छन् । के सरकार मधेस नेपालमा रहने कि नरहने भनेर जनमतसंग्रह गर्न तयार छ ? एउटै मञ्चमा रहेका ओलीले यसबारे के भन्छन् ? धेरैको ध्यान अहिले राष्ट्रिय सभागृहतिरै छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५