काठमाडौं । इंग्ल्यान्डका ब्याटर ह्यारी ब्रुक फेरि आईसीसी टेस्ट ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन्।
अस्ट्रेलियाका ट्राभिस हेड बंगलादेशविरुद्धको पहिलो टेस्टमा कमजोर प्रदर्शन गरेपछि वरीयतामा तल झरेसँगै ब्रुक चौथोपटक टेस्ट ब्याटिङ वरीयताको नम्बर एक स्थानमा पुगेका हुन्।
ब्रुकले पहिलोपटक सन् २०२४ को डिसेम्बरमा टेस्ट वरीयताको शीर्ष स्थान हासिल गरेका थिए। पछिल्लो वरीयतामा जो रुट र स्टिभ स्मिथले पनि हेडलाई पछि पारेका छन्।
बंगलादेशविरुद्ध डार्विनमा भएको पहिलो टेस्टमा हेडले पहिलो इनिङमा २२ र दोस्रो इनिङमा १७ रन मात्र बनाउन सकेका थिए।
अस्ट्रेलियाका स्टिभ स्मिथले भने पहिलो इनिङमा ७१ र दोस्रो इनिङमा ४४ रन बनाएपछि एक स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेका छन्।
यता, बंगलादेशका कप्तान नजमुल हुसैन शान्तोले करिअरकै उत्कृष्ट टेस्ट ब्याटिङ वरीयता हासिल गरेका छन्। पहिलो टेस्टको एक मात्र इनिङमा ८४ रन बनाएपछि उनी नौ स्थान माथि उक्लिँदै २०औँ स्थानमा पुगेका छन्।
उनको ६५९ रेटिङ अंक बंगलादेशी ब्याटरमध्ये छैटौँ उच्च हो।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३