काठमाडौं : राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । रेशम चौधरीमाथि जन्मकैदकाे फैसला भएपछि बुधबार आकस्मिक रुपमा बसेको राजपाको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकबारे जानकारी दिँदै राजपाका संयोजक महेन्द्रराय यादवले सरकारलाई दिएको समर्थन आफुहरुले फिर्ता लिने निर्णय गरेको बताए । बुधबार कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई टिकापुरमा एक अबोध बालक र उच्च प्रहरी अधिकारीसहित ९ जनाको ज्यान गएको घटनामा दोषी ठहर गर्दै जन्मकैदकाे फैसला गरेको थियो । रापाका संयोजक महेन्द्रराय यादवले जारी गरेको विज्ञप्तिमा ‘चौधरीलाई आजिवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई मर्माहत र स्तब्ध बनाएको’उल्लेख छ । दुई तिहाई भएपनि संविधान संशोधन नगरेको, थरुहट आनदोलनका बन्दीहरुलाई रिहाई नगरेको, प्रदेशलाई अधिकार नदिएको ,प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाएको र सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल रहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ ।
चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । केपी ओली नेतृत्वमा एक वर्षअघि सरकार गठन हुँदा राजपाले समर्थन गरेको थियो । राजपा सरकारलाई समर्थन गरेपनि सरकारमा भने गएको थिएन ।

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५