काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा लगाउने भनिएको ५० प्रतिशत कर तीन दिनका लागि स्थगित गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत क्यानडाबाट आयात हुने सामानमा प्रस्तावित कर तीन दिनका लागि रोकिएको घोषणा गरेका हुन्। उक्त कर बुधबार बिहानदेखि लागू हुने तय गरिएको थियो।
ट्रम्पका अनुसार क्यानडा र अमेरिकाबीच सम्झौताको कागजातलाई अन्तिम रूप दिने प्रक्रिया जारी रहेकाले कर कार्यान्वयन स्थगित गरिएको हो। क्यानडाली सामानमा नयाँ कर लागू हुन दुई घण्टाभन्दा कम समय बाँकी रहँदा ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
अमेरिकी अटोमोबाइलमाथि क्यानडाले कर लगाउने तथा क्यानडाका केही प्रान्तले अमेरिकी वाइनको बिक्रीमा प्रतिबन्ध लगाउनेलगायतका विषयमा दुई देशबीच लामो समयदेखि विवाद हुँदै आएको छ।
ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच यसै साता दुईपटक वार्ता भएको छ। जुलाईदेखि दुई देशका वार्ताकारहरू निरन्तर छलफलमा छन्। ट्रम्पले अगस्ट १९ लाई समयसीमा तोक्दै क्यानडामाथि नयाँ कर लगाउने चेतावनी दिएका थिए।
यसैबीच, क्यानडाका प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जाल एक्समार्फत वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन्। यद्यपि, केही महत्वपूर्ण विषयमा अझै काम गर्न बाँकी रहेको उनले उल्लेख गरेका छन्।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३